नेपाल मगर संघ घोराही उपमहानगरपालिका कार्य समितिको आयोजनामा पौष २५ गतेदेखि सञ्चालन भएको दोस्रो पर्यटन तथा सांस्कृतिक माघे मेला २०८२ शनिबार भव्य रूपमा समापन भएको छ। नेपाल मगर संघ घोराही उपमहानगरपालिका कार्य समितिका वरिष्ठ उपाध्यक्ष गणेश प्रताप पुन मगरको सभाध्यक्षतामा समापन कार्यक्रम सम्पन्न भएको हो।
समापन कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघ केन्द्रीय उपमहासचिव सावित्रा रानाले नेपाल मगर संघ घोराहीले आयोजना गरेको यो ऐतिहासिक माघे मेला सफलतापूर्वक समापन भएकोमा खुसी व्यक्त गर्दै केन्द्रीय समितिको तर्फबाट शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा अतिथि रहनु भएकी नेपाली कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार भिमकुमारी बाठा र नेकपा एमाले दाङ जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकीले मगर संघको कार्यक्रम सानदार रूपमा समापन भएको भन्दै आयोजकलाई बधाई तथा शुभकामना दिनुभयो।
त्यसैगरी नेपाल मगर संघ दाङ जिल्ला समन्वय समितिका अध्यक्ष तथा माघे मेलाका संरक्षक मुक्तबहादुर बुढाले नगर समितिले आयोजना गरेको यो माघे मेला ऐतिहासिक रूपमा समापन भएको उल्लेख गर्दै यसले सिङ्गो मगर संघ र मगर समुदायबीच एकताको सशक्त सन्देश दिएको बताउनुभयो। साथै उहाँले घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीप्रति धन्यवाद व्यक्त गर्नुभयो। कार्यक्रममा अन्य अतिथिहरूको पनि उपस्थिति रहेको थियो। मेलामा विभिन्न तहबाट सहयोग पुर्याउने सहयोगी, संघ–संस्था तथा अतिथिहरूलाई सम्मान र मायाको चिनो प्रदान गरिएको थियो। मेलाअन्तर्गत आयोजित दोहोरी गीत प्रतियोगितामा प्रथम राजमान खत्री र सीता भण्डारी, दोस्रो कालिका राना र अमृता विश्वकर्मा, तथा तेस्रो देवी खत्री, जीवन पुन, राज थापा र अन्जु ठकुरी हुन सफल भए। त्यसैगरी अनुशासित गायकतर्फ बेदबहादुर केसी र अनुशासित गायिकातर्फ तिलसरी श्रेष्ठ घोषित हुनुभयो।
डान्स आइडलतर्फ प्रथम पृन्सा महरा, दोस्रो माया कवर, तेस्रो सम्झना घर्ती, सान्त्वना निश्चल थापा तथा उत्कृष्ट बाल प्रतिभाका रूपमा सन्सु पुन चयन हुनुभयो। समापन समारोहलाई सम्बोधन गर्दै सभाध्यक्ष गणेश प्रताप पुन मगरले दोस्रो पर्यटन तथा सांस्कृतिक माघे मेला सफलतापूर्वक समापन गर्न सहयोग पुर्याउने सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै मेला समापन भएको घोषणा गर्नुभयो। कार्यक्रमको सञ्चालन प्रेस संयोजक कैलाश घर्ती मगरले गर्नुभएको थियो।


