नाटक ‘माइला’ र ‘साहिँली’ मा अभिनय गरेका मोक्तान अझै अवसरको खोजीमा

रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर –२ मा २०५० साल साउन १७ गते जन्मिएका राजन मोक्तानलाई सानैदेखि कलाकारिता गर्ने मन थियो । अरुले अभिनय गरेको देख्दा आफूलाई पनि त्यस्तै गर्न पाए हुन्थ्यो भन्नेमात्रै लागेन उनलाई कलाकारिताबाट नै नाम कमाउने र समाजमा सबैले चिन्ने रहर पनि जाग्यो । अहिले पनि फुर्सदमा कलाकारिता गर्दै आएका उनले जिवनमा निकै दुःख भोगेको बताएका छन् ।

आफ्नो कमाई खाने र दैनिक गुजारा गर्ने मुख्य पेशालाई थाँती राख्दै उनी कतै अवसर पाए भनें दौडिहाल्छन् । ‘आफ्नो रहर जता छ त्यतै जानुप¥यो नि, मैले त्यसमा नै आफ्नो भविष्य देखेको छु’ उनी भन्छन् ‘कलाकारिता गर्ने रहर अझै छ तर समस्या भनें अवसर नपाउनु नै हो ।’ उनी काठमाडौंको सेतोपुलमा बसेर आफ्नै गाडी कुदाउँछन् । कसैले ‘यता अभिनय गर्ने ठाउँ छ अरे’ भनेको सुन्नेबित्तिकै आफू अनुकुलको चरित्र छ भनें कुदिहाल्छन् । उनले आफू सानो छँदा गाउँकै एक स्कुलमा नमुना युवा समाजले तिहारको बेला देखाएको सांस्कृतिक नाच राम्ररी हेरेका थिए । यो नाच हेरेपछि उनलाई पनि यस्तै अभिनय गर्ने इच्छा जागेर आयो । ‘त्यो नाचले मलाई मन छायो, मचाहिँ किन गर्न सक्दिन भनेर यतातिर नै मन लाएँ, विस्तारै केही सफल पनि भएँ तर अझै पनि मनको इच्छा पूरा गर्न पाएको छैन’ उनले भने ‘आफूलाई मन लागेको पेशा कलाकारिता भएकाले छोड्न नसकेको हो, काम बढी गर्नुपरे पनि दाम भनें कमाउन सकिँदो रहेनछ ।’ उनले अहिले दामलाई भन्दा पनि कामलाई नै प्राथमिकतामा राखेका छन् । उनले काठमाडौं आएर २०६५ सालतिर इटाभट्टामा काम गरे । त्योभन्दा अगाडि उनी होटेलमा भाँडा माझ्न पनि पछि परेनन् । काठमाडौंमा जीविकाको अरु कुनै माध्यम नभएकाले भाँडा माझन् परेको उनको भनाई छ ।

उनले २०६६ ÷६७ सालतिर लगनखेलदेखि गोदावरीसम्म कुद्ने माइक्रोमा खलासीको काम गरे । पछि उनले गाडीको लाइसेन्स पनि निकाले र आफैं गाडी कुदाउन थाले । उनलाई एकजना मामाले गाडी लाइनमा प्रवेश गराएकाले सधैं मामाको नाम लिइरहन्छन् । ‘मामाले नै गर्दा म गाडी क्षेत्रमा स्थापित हुन सकें’ उनी भन्छन् । उनी अहिले गाडी कुदाउँछन् भनें अवसर पाए अभिनय गर्न गइहाल्छन् । ‘गाडी कुदाएन भनें दैनिक जीविका नै चलाउन गाह्रो हुन्छ, अभिनय गर्न गइएन भनें इच्छामाथि नै प्रहार हुन्छ त्यसैले समस्यामा छु’ उनी भन्छन् ।

जे काम गरे पनि खासै सफल नभएपछि र भनेजस्तो आम्दानी नभएपछि बिरक्तिएर उनले भक्तपुरको सुर्यविनायकमा केही समय पानीपुरी र चटपटे पनि बेचे । उनलाई त्यतिबेला ‘विश्वासघात’ ‘अन्तरघात’ जस्ता टेलिश्रृंखलाको अवसर आयो । उनले विश्वासघातमा गाउँलेको भूमिका खेलेका थिए भनें अन्तरघातमा बुबाको भूमिका निर्वाह गरे । उनले त्यसपछि अभिनय गरेको ‘माइला’ र ‘साहिँली’ ले निकै चर्चा पायो । माइलामा पनि उनले गाउँलेको अभिनय नै गरे । उनले केही समय सर्वनाम थिएटरमा रंगमञ्चको यात्रा गरे । उनले त्यहाँ ‘जब फूलले आकार लिन्छ’ नाटक खेले, जसमा उनको मालीको भूमिका रहेको थियो । ‘कलाकारितालाई निरन्तरता दिने र यही क्षेत्रबाट आफूलाई चिनाउने मन छ’ उनी भन्छन् ‘ कतिपय अभिनयमा त आफ्नै भूमिका हेरेर धेरै पटक रोएको छु ।’

उनले फिल्ममा पनि अवसर आएको तर विभिन्न कारणले अभिनय गर्न नपाएको बताएका छन् । घरमा आमाले छोराको भविष्य सम्झेर सधैं गनगन गर्ने गरेको र यो क्षेत्रबाट केही पनि गर्न सकिनस् भनेर गुनासो गरेको विषय कोट्याउँदै भने ‘आमालाई छोराले कमाउन सकेन भन्ने चिन्ता लागेको हो, कमाए हुन्थ्यो भन्ने सोच्नु स्वभाविकै हो’ उनले भने ‘आमाले पनि मलाई राम्रै होस् भन्ने चाहनुभएको हो, यत्रो समय काम गर्दा पनि जम्न र कमाउन सकेन भन्ने पीर उहाँमा थियो ।’ उनी कुनै दिन परिवारको चित्त बुझ्नेगरी अभिनय गरेर आफू स्थापित हुने सोचमा छन् ।

काठमाडौं आएको १९ वर्ष भइसक्दा पनि उनी आफू अझै संघर्ष नै गर्दै आएको बताउँछन् । काठमाडौं आउँदा सुरुमा उनलाई देखेकाले पनि उनको त्योबेलाको इतिहासको राम्रै चर्चा गर्दै दुःखको कुरा गर्ने गर्छन् । ‘जिवनमा निकै दुःख गरियो त्यसमा कुनै गुनासो छैन, एक दिन स्थापित कलाकार भएर दर्शकको मन जित्न पाए ती सबै दुःख बिर्सिने थिएँ’ उनी भन्छन् ‘अवसर भन्ने कुरा आफैं आउँदैन, सबै कुराले साथ दिनुपर्ने रहेछ, आशा छ कुनै दिन म मेरो लक्ष्यमा पुग्ने छु ।’

प्रकाशित मिति : २०८२ कार्तिक १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस