काठमाडौं,
महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर नेरिक एकेडेमीको आयोजनामा “उपत्यका ब्यापी छैठौं अन्तर बिधालय मौलिक तीज नृत्य प्रतियोगिता – २०८१” भब्य रुपमा सम्पन्न भएको छ । यस प्रतियोगिता नेरिक एकेडेमीको प्राङ्गणमा भदौ १ गतेका दिन भब्य रुपले सम्पन्न भएको हो ।
उक्त प्रतियोगितामा काठमाडौं, भक्तपुर र ललितपुर गरी ३२ भन्दा बढी बिधालयहरुका बिधार्थीहरुले भाग लिएका थिए । सो प्रतियोगितामा १२ बर्ष देखी १६ बर्ष भित्रका उमेर समुहका बिधार्थी र कक्षा १० सम्मका बिधार्थीहरुले मात्र भाग लिएका थिए । प्रतियोगितामा बरिष्ठ कलाकार मिथिला शर्माको प्रमुख आतिथ्यता रहेको थियो भने निर्णायकहरुमा खड्क बुढा, सुनिल थापा, रिना थापा मगर रहेका थिए ।
“उपत्यका ब्यापी छैठौं अन्तर बिधालय मौलिक तीज नृत्य प्रतियोगिता – २०८१” मा प्रथम हुनेलाई २० हजार रुपैया र ट्रफी, द्धितिय हुनेलाई १५ हजार रुपैया र ट्रफी, तृतिय हुनेलाई १० हजार रुपैया र ट्रफी, चौथो र पाँचौलाई ५, ५ हजार रुपैया र ट्रफी पुरस्कार निर्धारण गरिएको छ भने उत्कृष्ट १० लाई ट्रफी प्रदान गरिने र बेष्ट कोरियोग्राफरलाई ५ हजार रुपैया र ट्रफी प्रदान गरिएको थियो ।
प्रतियोगीतामा हिम रश्मी स्कुल प्रथम, नबिन ज्योती स्कुल द्धितिय, भेधभायस स्कुल र काठमाडौ जेभियर तृतिय, ब्राईट एञ्जल स्कुल चौथो, नबोदित स्कुल पाँचौ, न्यु नलेज छैठौं, गोल्डेन पिक स्कुल सातौ, एञ्गल लर्ड स्कुल आठौं, ग्रीन हिल्स र नेशनल मोडल स्कुल नवौं, कोटदेबी स्कुल दशौं स्थानमा पर्न सफल भएका थिए भने बेष्ट ड्रेस तर्फ एञ्गल लर्ड स्कुल, बेष्ट कोरियोग्राफर तर्फ ईसान श्रेष्ठ सम्मानित भएका थिए ।
बिधार्थीहरुलाई नकारात्मक कुराहरुलाई छोडेर सकारात्मक भावना तिर प्रेरित गर्दै देश, समाज र संस्कृती प्रति सकारात्मक भावना पैदा गर्नुका साथै मौलिक संस्कृतीको जगेर्ना होस् भनी “उपत्यका ब्यापी छैठौं अन्तर बिधालय मौलिक तीज नृत्य प्रतियोगिता २०८१” को आयोजना गरिएको कुरा प्रिन्सिपल मिलन कंडेलले बताए।