‘महाजात्रा’को गीतमा ‘स्पोन्सर्ड’ भ्यूज

फिल्मको हाइप निर्माण गर्न गीतको ठूलो भूमिका हुने गर्छ । यसैले गीतको अडियो र भिडियो स्तरीय बनाउन निर्माताले लाखौं खर्च गर्ने गरेका छन् । तर, यतिबेला गीतमाथिको लगानी बालुवामा पानीझैँ भैरहेको देखिन्छ । वर्षमा एकाध गीत मात्र चर्चामा आउँछन्, बाँकी त युट्युबमै हराउँछन् । यसैले अचेल गीतलाई जबर्जस्ती हिट देखाउन डलर तिरेर युट्युबमा भ्यूज थुपार्ने ट्रेन्ड फस्टाएको छ ।

 

फिल्म ‘महाजात्रा’का निर्माताले पनि गीतमा भ्यूज थुपार्न सामाजिक सञ्जालमा पैसा तिरेर गरिने प्रचार (बुस्ट)को सहारा लिएका छन् । माघे संक्रान्तिको दिन फिल्मको ‘आहा क्या राम्रो !’ गीत सार्वजनिक गरिएको थियो । एकातिर हिट फिल्मको सिक्वेल र अर्कोतिर नाम चलेका कलाकारको नृत्य भएकाले गीतलाई राम्रो भ्यूज मिल्ने धेरैको आँकलन थियो । तर, गीतको भ्यूजले निर्माता नै तर्सायो ।

रिलिजको दुई दिनसम्म गीतलाई युट्युबमा १ लाख भ्यूज पनि मिलेको थिएन । जबकि, गीत खिच्न मात्र निर्माताले १० लाख बढी खर्च गरेका थिए । गीतको भ्यूजलाई लिएर टिका-टिप्पणी हुन थालेपछि निर्माताले इज्जत जोगाउन ‘बुस्ट’को सहारा लिए । र, २ दिनपछि गीतमा भ्यूजको बाढी देखियो । ५ दिनसम्ममा गीतलाई ६ लाखभन्दा बढी भ्यूज मिलेको छ । स्पष्ट छ कि यो ‘बुस्ट’को करामत हो ।

केही दिनदेखि युट्युबमा ओएसआर डिजिटलबाट गीतलाई ‘स्पोन्सर्ड’ गरिएको छ । फेसबुकमा पनि केही पेजबाट गीत ‘स्पोन्सर्ड’ गरिएको भेटिन्छ । त्यसैको सहारामा गीतले भ्यूज कमाइरहेको हो । त्यसो त प्रायः निर्माताले गीतमा भ्यूज देखाउन ‘बुस्ट’कै सहारा लिने गर्छन् । तर, ‘जात्रा’ जस्तो सफल फिल्मको सिक्वेलको गीतलाई समेत ‘बुस्ट’ गरेर ‘हिट’ देखाउन खोज्नु निर्माताको दुर्भाग्य हो ।

खुल्लामञ्चमा लाखौंको सेट तयार पारेर ५ दिनसम्म ‘महाजात्रा’को गीत खिचिएको थियो । गीतमा चर्चित डान्सर आश्मा विश्वकर्मा र अभिनेता अरुण क्षेत्रीले नृत्य गरेका छन् भने फिल्मका कलाकारहरु विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानियाँ र रविन्द्र झा पनि नृत्य गर्दै देखिएका छन् । भ्यूजका लागि निर्माताले ‘बुस्ट’को सहारा लिएको भए पनि गीतको अडियो र भिडियो आकर्षक छ ।

नक्कली भ्यूज किन्ने प्रवृत्ति

सामाजिक सञ्जालमा गीत ‘स्पोन्सर्ड’ गर्ने ट्रेन्ड सामान्य भैसकेको अवस्थामा अचेल पैसामा नक्कली भ्यूज किन्ने प्रवृत्ति पनि मौलाउन थालेको छ । निकट स्रोतका अनुसार, २० देखि २५ हजारसम्ममा १ लाख नक्कली भ्यूज किन्ने गरिएको छ । केही व्यक्तिले अहिले यसैलाई व्यापार बनाइरहेका छन् । र, धेरै निर्माताले पैसामा किनेर फिल्मका गीतदेखि टिजर-ट्रेलरमा नक्कली भ्यूज थपेका छन् ।

प्रकाशित मिति : २०८० माघ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस