
प्रिय गभर्नर ज्यु,
१) हिजो बजार ३२०० को बिंदु मा जोखिम देखियो, त्यही अनुरूप शेयर कर्जाको जोखिम भार १००% देखी १५०% पुर्याइयो ठीक छ, तर आज बजार १८०० को बिंदु मा रहँदा के कति जोखिम देखियो र कर्जाको जोखिम भार १५०% नै कायम गरिएको छ। जोखिम अवस्थामा ल्याइएको नीति लाई सहज अवस्थामा खुकुलो गराउन यँहालाई कसले रोक्यो ?
२) हिजो बजार ३२०० को बिंदु मा पुग्दा बैंक तथा वित्तीय संस्थामा पनि तरलतामा संकुचन देखियो, अवस्था लाई मध्यनजर गर्दै, बैंक तथा वित्तीय संस्थालाई पूँजी बजारमा लगानी गर्न निरुत्साहित गरियो ठीक छ, तर आज तरलता फालाफाल भई अन्य क्षेत्रमा कर्जा परिचालन हुन नसक्दा पनि सो नीति लाई परिबर्तन गर्न यँहालाई कसले रोक्यो ?
३) हिजो बजार ३२०० को बिंदु मा पुग्दा, बैंक वित्तीय संस्थाले एकल ग्राहक र संस्थागत लगानी कर्तालाई लगानी गर्ने शेयर कर्जालाई कडा गर्न ४/१२ जस्ता नीति ल्याइयो ठीक छ, तर आज पर्याप्त तरलता रही अन्य क्षेत्रमा कर्जाको माग नरहदा पनि सो कर्जामा लगाइएको सिमा हटाउन वा एकल ग्राहक सीमा न्यूनतम ४०-५० करोड र संस्थागत तर्फ पूर्ण रुपमा खुल्ला गर्न यँहालाई कसले रोक्यो ?
४) दुई बर्ष अघि बिदेशी मुद्रा संचितिमा संकुचन आयो भनेर कुल माग लाई संकुचित पारी आयात लाई घटाउन लगाईएका नीति आज बैंक वित्तीय संस्था सँग पर्याप्त तरलता र बिदेशी मुद्राको संचिति( करीब एक बर्ष को आयात धान्न सक्ने) हुँदै गर्दा पनि बजारमा माग सृजना गराएर बजार चलाएमान गराउन यँहालाई कसले रोक्यो? के माग खुम्च्याउन भुमिका खेल्ने राष्ट्र बैंकले माग सृजना गर्न भूमिका खेल्नु पर्दैन ?
कुनै पनि नीति नियम सर्बकालीन, सर्बमान्य र सधैका लागि भन्ने हुँदैन। समय र अवस्था अनुरूप नीतिमा परिबर्तन आवश्यक रहन्छ। प्रिय गवर्नर ज्यु, मलाई थाह छ नेपालको अर्थतन्त्रको बारेमा यँहालाई राम्रो ज्ञान छ, यो देशको अर्थतन्त्र को बारेमा जती एक सामान्य नागरिक लाई चिन्ता छ, यँहालाई पनि त्यतिकै चिन्ता छ, यो देशले आर्थिक रूपमा छलांग मारेको हेर्न यहाँ पनि चाहनु हुन्छ, उत्पादन मुखी अर्थतन्त्र, रोजगार सृजनात्मक अर्थतन्त्र, निर्यात मुखी अर्थतन्त्र, प्रतिस्पर्धात्मक अर्थतन्त्रको परिकल्पना यँहामा पनि पक्कै छ, तर यति सबै हुँदा पनि, उधोगि, ब्यवसायी, र लगानिकर्ता प्रति तपाई किन यति कठोर, यति निर्दयी, यति निर्मम, यति गैर जिम्मेवार बन्दै हुनुहुन्छ ? किन तपाईका बारेमा यति धेरै नकारात्मक टिप्पणी सामाजिक संजाल भरी छरपस्ट छन? मौद्रिक नीतिको समिक्षा आउन महिनौ दिन ढिलो हुदा पनि, समीक्षा नआए आकाश नै खस्दैन भन्ने जस्ता गैर जिम्मेवारी पुर्ण जवाफ किन दिरहनु भएको छ ?
प्रिय गभर्नरज्यु, यँहाले दुई बर्ष अघि लगाउनु भएका अधिकांश नीतिको म पनि प्रसंशक नै हो तर दुई बर्ष अघि र आजको अवस्था र समय एउटै होइन, अवस्था र समयमा धेरै परिबर्तन भैसकेको छ। यो सब कुराको पनि यहालाई राम्रो ज्ञान छ । तसर्थ कुनै बिलम्ब नगरी, रिस, राग, कुण्ठा र कतै बाट परिचालित नभई एक महीना भन्दा ढिलै गरी आउन लागेको मौद्रिक नीतिको पहिलो समीक्षा मार्फत माथि पेश गरिएका सम्पुर्ण नीति हरुमा आवश्यक हेरफेर गरी बजार चलाएमान गराउन महत्वपुर्ण भुमिका खेल्न हार्दिक अनुरोध गर्दछु।
धन्यबाद, बाकी मौद्रिक नीतिको समीक्षा पछि ।