काठमाडौं,
“लोक दोहोरी ब्यवसायीहरुको ऐक्यवद्धता, कला संस्कृतिको संरक्षण तथा रोजगारीको प्रतिबद्धता” भन्ने मुल मर्मका साथ सञ्चालित नेपाल भरका दोहोरी ब्यवसायीहरुको छाता संगठनको पहिलो महाधिवेशन हुने भएको छ ।
नेपाल अधिराज्यभर २०० भन्दा बढी दोहोरी सञ्चालनमा रहेका छन् । पर्यटन प्रबद्र्धन आर्थिक मेरुदण्डको मूख्य हिस्सा ओगटेको दोहोरी व्यवसायीहरु क्षेत्रगत रुपमा संगठित भएपनि राष्ट्रिय रुपमा एकतावद्ध भने भइसकेका थिएनन् । देशमा बेरोजगारीको समस्या चर्को रहेको बेला हजारौंलाई रोजगारी दिएको यस व्यवसायमा आवद्ध व्यवसायीहरूले यही २०८० जेठ ३ गते बुधबार पर्यटकीय नगरी पोखरामा भब्य रुपमा प्रथम ऐतिहासक राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न लागेको राष्ट्रिय लोकदोहोरी व्यवसायी संघका अध्यक्ष गुणराज खनालले बताए ।
२०७९ चैत्र १७ गते चितवनमा भएको नेपाल अधिराज्य भरका दोहोरी सञ्चालकहरुको बैठकले राष्ट्रिय महाधिवेशन पोखरामा सम्पन्न गर्ने निर्णय गरेको जानकारी महाधिवेशन संयोजक बिनोद श्रेष्ठले दिए । कार्यक्रमलाई भब्य र ऐतिहासिक रुपमा सम्पन्न गर्न आवश्यक पर्ने विभिन्न समितिहरु गठन गरिसकिएको कार्यक्रम प्रचारप्रसार संयोजक आशिष खड्काले जानकारी दिनु दिए ।
पहिलो महाधिबेशन सम्पन्न गराउन पोखराले अवसर पाएकोमा आभार प्रकट गर्दै महाधिवेशन व्यवस्थापन प्रमुख जीवन गुरुङले तोकिएको जिम्मेवारीलाई कुशलतापूर्वक बहन गर्ने बताए । ऐतिहासिक प्रथम महाधिबेशनमा नेपालका बहुचर्चित कलाकारहरुको प्रस्तुति रहने, विभिन्न समुदायको साँस्कृतिक झाँकी प्रस्तुत हुने उक्त महाधिवेशनको उद्घाटन प्रधानमन्त्रीबाट हुने जानकारी विधान मस्यौदा समतिका संयोजक भिम श्रेष्ठले दिए । कार्यक्रम सम्पन गराउन करिब २५ लाख भन्दा बढी खर्च हुने अनुमान गरिएको कुरा आर्थिक विभाग प्रमुख सुजन घिमिरेले जानकारी दिए ।
लोक दोहोरी व्यवसायीहरू राष्ट्रिय रूपमै एकतावद्ध भएपछि यस व्यवसायलाई अझ सशक्त बनाउन र व्यवसायीहरूको जायज मागलाई सम्वन्धित निकायसम्म प्रभावकारी ढंगले राख्न थप बल पुग्ने कार्यक्रम संयोजक श्रेष्ठले बताए ।