शैली थिएटरमा ‘माउजङ बाबुसाहेबको कोट’ मञ्चन हुँदै

काठमाडौं,

चर्चित कथाकार भवानी भिक्षुद्वारा लिखित नाटक ‘माउजङ बाबुसाहेबको कोट’ आजबाट काठमाडौंमा प्रदर्शन हुँदै छ । काठमाडौं स्थित रातोपुलमा रहेको शैली थिएटरमा नाटक मञ्चन हुन लागेको आयोजकले जनाएको छ ।

भिक्षुले लेखेका कथा ‘माउजङ बाबुसाहेबको कोट’लाई सबिन न्यौपानेले नाट्य रूपान्तरण गर्नुभएको हो ।

यस नाटकमा प्रजातन्त्र स्थापनापछि एक बिर्तावाला घरानियाँ राणा बाबुसाहेबको मनोविज्ञानलाई समेटिएको छ । नाटकका मुख्यपात्र बाबुसाहेबलाई राणाशासन कालमा एकजना राणा विशिष्ट व्यक्तिले बक्सिस् दिएको ओभरकोटसँग भएको बाबुसाहेबको खानदानी मनोविज्ञानलाई भिक्षुले कथामा उतार्नुभएको छ ,

प्रस्तुत कथामा इमेज थिएटरको प्रयोग पनि गरिएको छ । सरोज अर्याल, नमस्ते दिवाकर घिमिरे, रिता थापा, सबिन लुइँटेल, प्रनेश गौतम, सन्तोश थापा, सानू पाण्डेय लगायतका कलाकारहरूको अभिनय रहेको नाटकलाई विवेक न्यौपाने ‘घने’ले निर्देशन गर्नुभएको छ भने वाद्यबाधनमा सुक्रराज मगर र अनिल गुरुङ साथ दिनुभएको छ ।

आजबाट बिहीबार बाहेक हरेक दिन माघ २५ गतेसम्म साँझ ५ बजे मञ्चन हुनेछ। शनिबार भने दिउँसो १ बजेपनि अतिरिक्त शो मञ्चन हुने थिएटरले जनाएको छ ।

प्रकाशित मिति : २०७९ माघ ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस