‘छक्का पञ्जा ४’को काम चलाउ पोस्टर

फिल्म निर्माणमा गम्भीर मानिन्छ, दीपक-दीपा समुह । पहिलो फिल्म ‘६ एकान ६’ देखि पछिल्लो रिलिज फिल्म ‘६ माया छपक्कै’ सम्म आइपुग्दा कथावाचन र मेकिङ शैलीमा यो समुहमा परिपक्वता देखिएको छ । समाजभित्रको गम्भीर मुद्धालाई हाँस्यरससहित प्रस्तुत गर्न माहिर मानिएको यो समुहको दुहुनो गाई ‘छक्का पञ्जा’को चौंथो श्रृंखला आगामी फागुन १९ गते प्रदर्शनमा आउँदैछ ।

बुधबार दीपकराज गिरीले फेसबुकमार्फत् फिल्मको एक पोस्टर सार्वजनिक गरे । पोस्टरमा उनी मात्र फिचरिङ छन् । बाइकको बायाँपट्टीको ह्यान्डल समातेर उभिएका उनी राजा चरित्रमा प्रस्तुत छन् । तर, यो तस्बिर उनले यसअघि नै फिल्मको प्रदर्शन मिति घोषणा गर्दा सार्वजनिक गरिसकेका थिए । त्यही तस्बिरमाथि फिल्मको नाम र प्रदर्शन मिति थपेर पोस्टर डिजाइन गरिएको छ ।

दीपक-दीपाको समुहले यसअघि पोस्टरका लागि फोटोसुट नै गर्ने गरेको थियो । तर, यसपटक यो समुहले पोस्टरमा खासै मिहिनेत गरेको देखिन्न । यसअघि नै सार्वजनिक तस्बिरमा काम चलाएको छ । निर्देशक हेमराज बिसीले फिल्म छाडेको र प्रदर्शन मिति सर्न लागेको हल्ला चिर्न मात्र पोस्टर बनाएको देखिन्छ । पोस्टरमा हेमराजको नाम निर्देशकमा छ भने प्रदर्शन मिति फागुन १९ नै छ ।

आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, निर्मल शर्मा, नीर शाह, मलिना जोशी, राज आचार्यलगायतको अभिनय रहेको छ । नरेन्द्र मैनालीको छायांकन रहेको फिल्मको कार्यकारी निर्मातामा केदार प्रसाद घिमिरे र निर्मल शर्मा छन् । यसपटक फिल्ममा राजनीतिक विषयलाई उठाइएको जानकारी प्राप्त छ ।

प्रकाशित मिति : २०७९ पुष ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस