विलियम सेक्सपियरले कतै लेखेका थिए, ‘नाममा के छ र !’ तर, नेपाली फिल्मको हकमा नाममा धेरैथोक हुन्छ । नामकै पछाडि इन्डस्ट्री दौडिरहेको छ । यदि नाममा केही हुँदैन थियो भने ‘नाईं नभन्नू ल’को छैठौं श्रृंखलासम्म बन्दैन थियो । नाममा सबथोक छ भन्ने अरु ज्वलन्त उदाहरण ‘ए मेरो हजुर’, ‘प्रेमगीत’, ‘कबड्डी’ जस्ता फिल्महरु पनि हुन् । त्यसैले नेपाली फिल्ममा जे छ नाममै छ ।
निर्देशक मिलन चाम्सलाई नाममा केही छैन भन्ने लागेको भए कहिले फिल्मको नाम ‘गोर्खा वारियर २’ राख्ने त कहिले पछाडिको २ हटाउने थिएनन् । फिल्मको घोषणा २ राखेर गरेर चाम्सले बिहीबार सार्वजनिक टिजरमा २ हटाएका छन् । उनले दर्शक कन्फ्युज बनाउन खोजेका हुन् वा आफैं कन्फ्यूज हुन् ? एक पत्रकारको यस प्रश्नमा चाम्सले २ राख्नु र हटाउनुको कारणबारे वृत्तान्त सुनाए ।
उनले भने, ‘म कन्फ्युज होइन, परिस्थितिले कन्फ्युज बनाएको हो । हामी ‘गोर्खा वारियर’ बनाउन लागेका थियौं, त्यसैबेला कोरोना आयो र अब के गर्ने भन्दा अलि सजिलो भएकाले ‘गोर्खा वारियर २’ बनाउने कुरा भयो । ‘टू’ राखेपछि फेरि दर्शक कन्फ्युज हुनुभयो । इन्डियन वितरण कम्पनीसँग कुरा गर्दा पनि ‘गोर्खा वारियर’ मात्र राखेर रिलिज गर्दा ठीक हुन्छ भन्ने सुझावपछि ‘टू’ हटाएका हौं ।’
‘गोर्खा वारियर’को अरु सन्तान पनि जन्मिने उनले स्पष्ट पारे । बिहीबार सार्वजनिक टिजरमा प्रदर्शन मिति उल्लेख गरिएको छैन । यसबारेमा चाम्सले भने, ‘बलिउडका ठूला वितरकहरुले फिल्म मागिरहेका छन् । हाम्रो इच्छा चाहिँ हलिउडकै वितरक कम्पनीबाट विश्वभर रिलिज होस् भन्ने हो । अहिले कुरा भइरहेको छ । त्यसैले उहाँहरुले दिएको मितिमा फिल्म प्रदर्शन गर्ने योजनामा छौं ।’
निर्देशक चाम्स ‘गोर्खा वारियर’को मार्केटिङमा आफूले एकदमै ध्यान दिने बताउँछन् । अबको ६ महिनाभित्र १० हजार दर्शकको उपस्थितिमा यूकेमा विश्व प्रिमियर गर्ने र त्यसपछि विश्व बजारमा मार्केटिङ गरेर प्रदर्शन गर्ने उनको योजना छ । ५ करोड बढी लागतमा निर्माण भएको फिल्मले सन् १९४९ मा मलाया युद्धमा नेपाली गोर्खा सैनिकहरुले देखाएको बहादुरीलाई प्रस्तुत गरेको छ