२५ लाखभन्दा कममा प्रदीपले स्क्रिप्ट नलेख्ने, तर एमजीमा बस्न तयार

फिल्मको मेरुदण्ड भनेको नै स्क्रिप्ट हो । स्क्रिप्ट लेखनमा चुकेको फिल्म न उत्कृष्ट बन्न सक्छ न दर्शकको मनमा बस्न सक्छ । तर, नेपालमा स्क्रिप्टभन्दा स्टारकास्टमा मिहिनेत र खर्च गर्ने मेकरको संख्या ठूलो छ । नाम चलेका कलाकारमा लाखौं खर्च गरेर स्क्रिप्ट भने चाउचाउको दाममा किन्न चाहन्छन् धेरै मेकरहरु । अनि, स्क्रिप्ट राइटरहरुले पनि झारो टार्न २/४ दिनमै स्क्रिप्ट बनाइदिन्छन् ।

तर, विस्तारै मेकरहरुमा स्क्रिप्टमा नै मिहिनेत र लगानी गर्नुपर्छ भन्ने चेत खुल्न थालेको छ । र, पारिश्रमिक बढ्न थालेपछि स्क्रिप्ट लेखकहरु पनि लेखनमा गम्भीर हुन थालेका छन् । विषयवस्तुको सुक्ष्म अध्ययन गरेर स्क्रिप्ट लेखनमा महिनौं समय खर्चिन्छन् । अहिले केही नाम चलेका स्क्रिप्ट राइटरले चलेको कलाकार बराबर पारिश्रमिक लिने गर्छन् । जसमध्ये एक हुन्, प्रदीप भारद्वाज ।

अहिले उनी फिल्म ‘हात्तीछाप’को स्क्रिप्टलाई अन्तिम रुप दिन व्यस्त छन् । यो फिल्मको स्क्रिप्ट लेख्न उनले १५ लाख पारिश्रमिक लिनुका साथै मुनाफाको केही प्रतिशत शेयर लिने सम्झौता गरेका छन् । उनले लेखेको फिल्म ‘पारस’को स्क्रिप्ट अभिनेता भुवन केसीले २५ लाखमा किनेको बताइन्छ । उनी केही पारिश्रमिक लिएर बाँकी मुनाफाको हिस्सेदार रहने गरी पनि स्क्रिप्ट लेख्ने गर्छन् ।

अब २५ लाखभन्दा कममा स्क्रिप्ट नलेख्ने अडानमा रहेका प्रदीप भन्छन्, ‘मैले १५ लाखभन्दा कममा स्क्रिप्ट लेख्न छाडेको एक वर्ष बढी भइसक्यो । अहिले त्यतिमा स्क्रिप्ट लेख्दिनँ । तर, म एउटा स्क्रिप्ट लेख्न ५/६ महिना समय दिन्छु । मिहिनेत र समयअनुसार पारिश्रमिक लिन्छु र लिनुपर्छ । मेरो पारिश्रमिक बढी भयो भन्नेहरुलाई अलिकता पैसा लिएर बाँकी एमजीमा पनि स्क्रिप्ट लेख्ने गर्छु ।’

धेरै स्क्रिप्ट राइटरहरु मेकरबाट पीडित हुने गरेको गुनासो सुनिन्छ । तर, प्रदीप यसको दोष मेकरलाई भन्दा पनि स्क्रिप्ट राइटरलाई नै दिन्छन् । उनी हाक्काहाकी भन्छन्, ‘पीडित आफैं भएको हो । मिहिनेतअनुरुप पारिश्रमिक पाइँदैन भने किन गर्नु ? त्यसको सट्टा बरु अर्को राम्रो काम गर्न सकिन्छ नि ।’ स्क्रिप्ट राइटरले लेखनमा दिने समय र मिहिनेत सबभन्दा महत्त्वपूर्ण हुने उनको तर्क छ ।

स्क्रिप्ट राइटरहरु पारिश्रमिकमा अन्यायमा पर्ने गरेको गुनासोसँग उनी सहमत छैनन् । पहिलादेखि नै राम्रा मेकरले स्क्रिप्टमा राम्रो खर्च गर्ने गरेको उनको भनाई छ । ‘स्क्रिप्ट राइटरहरुबीचकै अस्वस्थ प्रतिस्पर्धाले त्यस्तो अवस्था आएको हो,’ उनले थपे, ‘मैले पनि एकैचोटी यति पैसा लिन्छु भन्ने अवस्था त आएको होइन नि । स्क्रिप्टमा कति समय दिने र मिहिनेत गर्ने भन्ने कुरा महत्त्वपूर्ण हो ।’

निर्मातालाई लेखक भारद्वाजको एउटा अफर पनि छ, स्क्रिप्ट उनको, निर्देशक उनको रोजाईको र बजेट डेढ करोड, मुनाफा भए ५०/५० प्रतिशत । यो सर्तमा काम गर्न राजी भए विना पारिश्रमिक स्क्रिप्ट लेख्न आफू तयार रहेको उनको भनाई छ । प्रदीपले ‘देवर बाबु’, ‘हिफाजत’, ‘कृ’, ‘झिँगेदाउ’, ‘आइ एम सरी’, ‘कसले चोर्‍यो मेरो मन’ लगायत धेरै फिल्मको पटकथा तथा संवाद लेखेका छन्

प्रकाशित मिति : २०७९ पुष ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस