समाज परिवर्तन युवा समूहको नवौं बार्षिकोत्सव उद्घाटन

रोल्पा । समाज परिवर्तन युवा समूह परिवर्तन गाउँपालिका–३ तल्लो केवरी रोल्पाको नवौं बार्षिकोत्सव आइतबार उद्घाटन भएको छ । ‘समुन्नति समाज निर्माणमा युवा बुद्धिजीवी एकजुट भइ परिवर्तनका लागि निरन्तर अघि बढौं’ भन्ने मुल नाराका साथ युवा समूहको नवौं बार्षिकोत्सव उद्घाटन भएको हो ।

युवा समूहका अध्यक्ष शेर बहादुर बुढामगरको अध्यक्षमा भएको उद्घाटन कार्यक्रमको प्रमुख अतिथिमा परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगर रहेका थिए । कार्यक्रमको विशिष्ट अतिथिमा गणतान्त्रिक खेलकुद महासंघका केन्द्रिय महासचिव विनोद चन्द रहेका थिए । युवा समूहका सहसचिव विकास खड्काको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा शुभकामना मन्तव्य राख्नेमा नेकपा परिवर्तन गाउँपालिका सेक्रेटरी हिरालाल खड्का, नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिका–३ का अध्यक्ष दिपक बुढा मगर, नेपाली कांग्रेसका पार्टी प्रतिनिधि रण बहादुर चन्द, परिवर्तन गाउँपालिका–३ का वडा अध्यक्ष खिम विक्रम चन्द लगायतले राखेका थिए । कार्यक्रमको सञ्चालन युवा समूहका सल्लाहकार बिमल बुढा मगरले गरेका थिए ।

कार्यक्रमका विशिष्ट अतिथी गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय महासचिव विनोद चन्दले परिवर्तन गाउँपालिकाले श्रम–डे राखेर जनतालाई श्रममा जोड्नु राम्रो भएको बताए । हिजो परिवर्तनका लागि हिडेका प्रचण्ड कहिले एमालेसँग कहिले कांग्रेससँग साठगाँत गरेको बताउदै, नेपाली कांग्रेसका युवा नेता गगन जस्ता नेताले अमेरिकी सेना आउँछ भन्दा आउदैन भन्नु भनेर बोल्नु गलत भएको समेत बताए । साथै खेलकुद क्षेत्रमा त यो पार्टी म त्यो पार्टी नभनी विकास गर्नुपर्ने समेत बताए ।

कार्यक्रमका प्रमुख अतिथि परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले कार्यक्रम उद्घाटनको ब्यानर र मैनबत्ति बालेर कार्यक्रमको उद्घाटन गर्दै, देशले धेरै लामो समयको संघर्ष, बलिदान तथा त्यागले गर्दा संघीयता प्राप्त भएको बताए । उनले परिवर्तन गाउँपालिका खेलकुद विकासको लागि तयार रहेको बताए ।आफूहरू वडा स्तर देखि गाउँपालिका स्तरको खेलकुदको सरुवा हुने समेत बताए । परिवर्तन गाउँपालिकाले खेलाडीहरुको बिमा गर्दिने समेत बताए । युवाहरुलाई चुनावको समयमा मात्र प्रयोग गर्ने र कोहिले तरुण दल, कोहीले युथफोर्स र कोहीले वाइसीएल बनाउने गरेको बताउदै चुनाव सकिएपछि मतलब नगर्ने प्रवृत्ति हावी भएको समेत बताए ।

कार्यक्रममा आमा समूह, झाकी समूह, पैसारु समूह लगायत व्यापारी, शिक्षक, विद्यार्थी, बुद्धिजीवी, सुरक्षाकर्मी पत्रकार लगायतको सहभागी रहेको थियो ।

नवौं बार्षिकोत्सवमा साविकको पुरुष भलिबल, महिला भलिबल, स्लो बाइक रेस, एकल नृत्य, खुल्ला लोक दोहोरी, बुद्धिचाल (चेस) र घैटा फोर लगायतको प्रतियोगिता राखिएको छ । साथै जेष्ठ महिला नागरिक ७५ बर्षकी सुनसरी बुढा मगरलाई प्रमुख अतिथि र विशिष्ट अतिथिले खाँडा, माला र अबिर लगाएर स्वागत समेत गरेको थियो । बार्षिकोत्सव १३ गतेदेखि १६ गतेसम्म जारी रह्ने युवा समूहले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस