रुविनाको फ्लपमा ह्याट्रिक

अभिनेत्री रुविना थापाले डेब्यू फिल्म ‘लभ डायरिज’को एक गीत सार्वजनिक कार्यक्रममा अनुभवले खारिएको एउटा बयान दिएकी थिइन्, ‘मेरो फिल्मी ब्याकग्राउन्ड नभएकाले फिल्ममा प्रवेश गर्न सजिलो थिएन । यो फिल्मबाट अभिनेत्री बन्ने सपना त पूरा भयो तर फिल्मी दुनियाँमा अटाउन एकदमै गाह्रो छ । यद्यपि, म आफूलाई प्रमाणित गर्नका लागि अभिनयमा मिहेनत गर्न छाड्ने छैन ।’
उनले तीन वर्षअघि भनेको कुरा यतिबेला उनको हकमा लागू हुँदै गएको छ । पहिलो फिल्म ‘लभ डायरिज’मा उनको अभिनयको प्रशंसा भए पनि सफलता हात परेन । दोस्रो फिल्मको रुपमा काम गरेको ‘डाँडाको वरपीपल’ विवादै विवादले बक्सअफिसमा डुब्यो । साउन २० गते उनी अभिनीत तेस्रो फिल्म ‘म’ प्रदर्शन भएको थियो । यो फिल्मसँगै उनले फ्लपमा ह्याट्रिक नै गरेकी छन् ।
लगातार फिल्म असफल हुँदा रुविनालाई फिल्मी दुनियाँमा आफूलाई अटाउन सकस परेको छ । सुन्दरता र अभिनयको आधारमा उनले लगातार फिल्म त पाइन्, तर सफलता उनको लागि आकाशको फल झैं भएको छ । फ्लप फिल्मको श्रृंखला नरोकिँदा कयैन् अब्बल कलाकारको करिअर ध्वस्त भएका छन् । अभिनेत्री थापाको करिअर पनि फ्लप फिल्मको थुप्रोले धरमराउन थालेको छ ।
फिल्म डुब्न नरोकिए पनि उनलाई कामको अभाव छैन । ‘म’पछि उनले नयाँ फिल्म साइन गरेकी छैनन् । तर, म्यूजिक भिडियोमा उनलाई राम्रै भ्याइनभ्याइन छ । उनले महिनामा ८/१० वटासम्म भिडियोमा काम गर्दै आएकी छन् । भिडियो उनका लागि कमाउने राम्रो माध्यम बनेको छ । तर, अब म्यूजिक भिडियोमै चित्त बुझाउने या फिल्म छान्न पनि गम्भीर हुने ? निर्णय रुविनाकै हातमा छ ।

प्रकाशित मिति : २०७९ साउन २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस