सुदर्शन गौतमको कमब्याक पक्का, साइन गरे ‘एक्स ९’

०७१ सालमा प्रदर्शनमा आएको अभिनेत्री रेखा थापा अभिनीत, निर्मित तथा निर्देशित फिल्म ‘हिम्मतवाली’बाट सुदर्शन गौतमले अभिनय करिअर सुरु गरेका थिए । तर, डेब्यू फिल्म सफल भए पनि उनले अभिनयलाई भने निरन्तरता दिन सकेनन् । लामो समयदेखि क्यानडामा बसोबास गर्दै आएका उनले ८ वर्षपछि अभिनयमा फर्किने निर्णय गर्दै फिल्म ‘एक्स ९’ साइन गरेका छन् ।

यतिबेला फिल्मको छायांकन प्रवन्ध मिलाउन क्यानडामा रहेका निर्माता तथा निर्देशक मुकुन्द भट्टले यसै साता गौतमसँग कागजी सम्झौता गरेका हुन् । फिल्मको केही प्रतिशत छायांकन क्यानडामा हुनेछ र त्यहाँको पार्टमा सुदर्शन देखिनेछन् । निर्देशक भट्टले फिल्ममा सुदर्शन गौतमको भूमिका सशक्त रहेको बताए । फिल्मका लागि सुदर्शनले आकर्षक पारिश्रमिक बुझेको बताइएको छ ।
८ वर्षपछि फिल्ममा कमब्याक गर्न लागेका सुदर्शनले राम्रो टिम र बलियो चरित्र पाएकाले आफू ‘एक्स ९’मा काम गर्न राजी भएको जानकारी दिए । उनले भने, ‘म फिल्मबाट कहिल्यै पनि टाढा थिइनँ । विभिन्न कारणले समय दिन नपाएको मात्र हुँ । फेरि फिल्ममा काम गर्दा राम्रो टिम र बलियो चरित्र हुनुपर्छ भन्ने मान्यतामा अडिग थिएँ । यी सबै कुरा ‘एक्स ९’मा पाएँ,’ क्यानडाबाट उनले भने ।
एक दुर्घटनामा दुवै हात गुमाएका सुदर्शनले बिना हात संसारकै अग्लो शिखर सगरमाथा आरोहण गरेर विश्वकीर्तिमान बनाएका छन् । खुट्टाले लेखेर नेपाल कर्मश क्याम्पसबाट मास्टर्स र क्यानडामा डिप्लोमा गरेका उनी कम्प्यूटरदेखि गाडीसम्म खुट्टैले चलाउँछन् । क्यानडामा मोटिभेसनल स्पिकरको रुपमा परिचित सुदर्शनले फिल्म ‘हिम्मतवाली’बाट अभिनयमा राम्रो सम्भावना देखाएका थिए ।
‘एक्स ९’लाई नेटफ्लिक्समा रिलिज गर्न निर्देशक भट्टले प्रयास गरिरहेका छन् । सम्भवतः आगामी महिना नेटफ्लिक्ससँग फिल्मको टिमबीच कागजी सम्झौता हुनसक्ने जानकारी प्राप्त छ । फिल्ममा सुदर्शनसँगै सौगात मल्ल, अनमोल केसी, पुष्प खड्का, राज कटुवाल, अनुपविक्रम शाहीलगायतको अभिनय रहनेछ । यो फिल्मबाट मोडल नीति शाहले अभिनेत्रीको रुपमा डेब्यू गर्दैछिन् ।

प्रकाशित मिति : २०७९ साउन २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस