चलचित्र ‘कृष्ण लीला’मा पुष्पको विकल्प थिएन : निर्देशक वली

फिल्म ‘मंगलम’बाट अभिनेता पुष्प खड्काले आफूलाई अलग चरित्रमा पनि बाँच्न सक्ने कलाकारको रुपमा चिनाए । अनुहारको बनौट (लुक्स) ले त उनलाई लभर ब्वाईको भूमिका बढी सुहाउँछ । उनको ‘कम्फर्ट जोन’ पनि यही हो । तर, उनी अलग-अलग चरित्रमा बाँच्न चाहन्छन् । आगामी भदौ ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कृष्ण लीला’ उनको अर्को फरक छनौट हो ।
चरित्र निर्माणमा मिहेनत गर्नुपर्ने, शारीरिक हाउभाउबाट अभिनय गर्नुपर्ने फिल्ममा चकलेटी हिरोहरु निर्देशकको रोजाईमा खासै पर्दैनन् । तर, ‘कृष्ण लीला’मा निर्देशक दीपक वलीले पुष्पबाहेक अरुलाई कल्पनै गरेका रहेनछन् । एक भेटमा उनले भने, ‘मैले फिल्मका लागि पुष्पबाहेक अरु विकल्प खोजेको थिइनँ । पुष्प नभएको भए यो फिल्म नै बन्दैन थियो । उहाँको विकल्पै थिएन ।’
निर्देशक वली ‘मंगलम’ हेरेपछि नै आफूले पुष्पलाई ‘कृष्ण लीला’को क्यारेक्टरमा सोचेको बताउँछन् । ‘मैले ‘मंगलम’ हेरेपछि ‘कृष्ण लीला’को अटिजम क्यारेक्टर पुष्पाले नै गर्न सक्नेमा विश्वस्त भएको थिएँ । किनकि, ‘मंगलम’ र ‘कृष्ण लीला’को क्यारेक्टरको सोच्ने तरिका फरक भए पनि चरित्र निर्माण र अभिनयमा गर्नुपर्ने मिहेनत फरक थिएन । र, म उहाँको कामबाट सन्तुष्ट छु,’ उनले भने ।
यसअघि ‘रोल्पा रोग’, ‘पण्डित बाजेको लौरी’, ‘कुम्भ करण’को निर्देशन गरिसकेका उनी ‘कृष्ण लीला’ आफ्ना अघिल्ला फिल्मभन्दा केही फरक रहेको बताउँछन् । दीपक भन्छन्, ‘दर्शकलाई हलमा बाँध्न मनोरञ्जनको खुराक पनि चाहिने रहेछ । ‘कृष्ण लीला’मा सन्देशसँगै मनोरञ्जन पनि छ । फिल्मलाई कमर्शियल रुपमा बनाएका छौं । मेरो अघिल्ला फिल्मभन्दा केही फरक पनि पक्कै छ ।’

प्रकाशित मिति : २०७९ साउन २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस