
रोल्पा । यतिबेला जताततै हेर्न हो भने हरियाली देखिन्छ । सायद यो समय बर्खायामको समय पनि हो हिउँदको समयमा नाङ्गा देखिने भिर पाखा डाँडाकाँडाहरु बोट विरुवा तथा घाँसले ढपक्क ढाकिएको देख्न सकिन्छ । लुम्बिनी प्रदेशको १२ जिल्ला मध्ये एक मात्र हिमाली जिल्ला रुकुम पूर्व मानिन्छ । ७ वटा प्रदेश मध्ये सबैको प्रतिनिधित्व गर्ने प्रदेश लुम्बिनी प्रदेश हो । जसमा हिमाल, पहाड तथा तराई समेटिएको छ । लुम्बिनी प्रदेशको हिमाली जिल्लामा पर्ने रुकुम पूर्वको‘कमल दह’जसको उत्पत्ति, बनावट र इतिहासको खोज अनुसन्धान गर्ने हो भने लामो रहेको पू्र्खाहरुले विश्लेषण गरेको पाइन्छ ।
अहिले रुकुम पूर्वको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा रहेको कमल दहमा आन्तरिक पर्यटकहरू संख्या बढ्न थालेको छ । सिस्ने गाउँपालिका वडा नम्बर ५ रुकुमकोटमा रहेको कमल दहमा ढकमक्क कमल फूल फूल्नथाले पछी दह हेर्न आउने आन्तरिक पर्यटकहरुको संख्या वृद्धि भएको छ । जेठको अन्तिम सातादेखि नै दहमा कमलको फूल ढकमक्क छन् । विगतका बर्षहरुमा अलि ढिला अर्थात असारको तेस्रो साताबाट मात्र फूल्न सुरु गर्ने कमल यो बर्ष भने जेठ महिनाको अन्तिम साताबाट फूल्न सुरु गरेको हो । विगतका बर्षहरुमा कमलको जरा बर्षेनी निकालिने गरेको थियो । यो बर्ष भने गएको फागुन चैतमा जरा निकाल्न प्रतिबन्ध गरेपछि भने यस बर्ष कमल फूल छिट्टै पलाएको र फूलेको स्थानीयले बताएका छन् । दहमा हरियाली कमलको पात, कमलको फूल, त्यसैमाथी तालचरी, मालचरीको पौडी र चिरबिरले कमल दहको रौनकता नै फरक बनाएको छ ।
दह हेर्न आउने आन्तरिक पर्यटकको कारण यहाँको वातावरण अरुबेला भन्दा निकै फरक देखिन्छ । ‘अरु साथीहरुले सामाजिक संञ्जालहरु फोटो राखेको देख्दा मलाई पनि जाम जाम लागेको थियो । आज आएर प्रत्यक्ष कमल दहको फोटो र कमलको फूल देखेपछि निकै खुशी लाग्यो’ दाङका गौरव बुढाले भने । अरुवेला भन्दा यो समयमा दह हेर्न लायक हुने भन्ने सुनेको बताउदै बर्खाको समयमा यात्रा गर्दै कमल दह पुगेको रोल्पाबाट प्रकाश पुनले बताए । ‘मैले फोटो र भिडियोमा देखेको भन्दा प्रत्यक्ष देखेपछि कमल दहको दृश्य फरक पाएको छु र दहमा फूलको फूल तथा यहाँको वातावरणको अवलोकन गर्दा सोचेको भन्दा विरलै अनुभव भयो ।’ पुनले भने ।
हिजोआज बुढा र पुन जस्तै कमल दह आउने, फोटो खिच्न, टिकटक भिडियो बनाउन, भिडियो खिच्न आउने मानिसहरू दैनिक दह आसपासमा भेट्न र देख्न सकिने दह रेखदेख गरिरहेका सिस्ने गाउँपालिका ५ का दण्डबहादुर शाहीले बताए । शाहीका अनुसार दह हेर्नका लागि रुकुम(पूर्व)को मात्र नभई विभिन्न ठाउँहरुबाट पर्यटकहरू आउने गरेको र छिमेकी जिल्लाहरु रुकुम(पश्चिम), रोल्पा, सल्यान, दाङ,
बागलुङ, जाजरकोट लगाएतका अन्य जिल्लाबाट आन्तरिक पर्यटकहरू आउने गरेका छन् । दह मध्यपहाडी लोकमार्ग छेउमै भएको कारण मध्यपहाडी लोकमार्ग भएर यात्रा गर्ने जो कोहीले पनि एकैछिन भएप्नी गाडी रोकेर कमल दह हेरेर फोटो खिचेर मात्र यात्रा गर्ने गरेको पाइन्छ ।
शनिबार र अन्य बिदाको दिनमा कमल दहमा धेरै मानिसहरूको भिड लाग्ने गरेको स्थानीयको भनाई छ । रुकुमकोट बासी र यहाँस्थित सबै कार्यालयका कर्मचारीहरु पनि दिनभरीको कामको थकान मेट्न एकैछिन भएपनि दहको दृश्य अवलोकन गर्न निष्किने गर्छन् । दहको सेरोफेरो हेर्न आन्तरिक तथा बाह्ये पर्यटकहरु बढेपछि अहिले रुकुमकोटमा होटेल सञ्चालक तथा व्यवसायीहरुलाई पनि राम्रो आम्दानी भइरहेको होटेल व्यवसायीले बताएका छन् ।