“टुबोर्ग दोहोरी गीत प्रतियोगिता – २०७८” को बिजेता बने अस्मिता डल्लाकोटी र जीवन सिग्देलको समूह

काठमाडौं,राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्वारा आयोजित “टुबोर्ग छैठौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८” भब्य रुपमा सम्पन्न भएको छ । यस प्रतियोगिता चैत्र १६ गतेबाट सुरु भएर चैत्र २० गते सु – सम्पन्न भएको हो । आयोजकको कार्यतालिका अनुसार चैत्र १९ गते सम्पन्न गर्ने भनिएतापनी धेरै समुहको सहभागिता भएको कारणले एक दिन म्याद थपिएको थियो । प्रतियोगितामा ६१ समूह बिच प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगिताको पाचौं दिन ९चैत्र २० गते० अन्तिम चरणको प्रतियोगिता सँगै बिच बिचमा चर्चित कलाकारहरुको प्रस्तुती राखिएको थियो भने सहयोगीदाताहरु र आजिवन सदस्यता लिनेहरुलाई सम्मान पनि गरिएको थियो । प्रतियोगिताको पाचौं दिन प्रतिष्ठानका केन्द्रिय सचिब जीवन दाहाल र प्रतिष्ठानका केन्द्रिय सदस्य पिएन सापकोटाले सहजीकरण गर्दै कार्यक्रम सञ्चालन गरेका थिए भने समापन कार्यक्रमको सञ्चालन केन्द्रिय महासचिव सुवास केसिले गरेका थिए ।

प्रतियोगिता अवधीभर प्रतिष्ठानका पुर्ब केन्द्रिय अध्यक्ष चन्द्र शर्मा निर्णायक संयोजकको भुमिकामा रहेका थिए भने निवर्तमान केन्द्रिय अध्यक्ष सह – संयोजक बद्री पंगेनी रहेका थिए । साथै यस प्रतियोगितामा अन्य अग्रज कलाकारहरु पनि निर्णायकको भुमिकामा रहेका थिए ।

काठमाडौं अवस्थित भृकुटीमण्डपमा चैत्र १६ गते देखि आयोजना भएको “टुबोर्ग छैठौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८” को अन्तिम चरणको दोहोरी गीत प्रतियोगितामा कडा प्रतिस्पर्धा भएको कारणले दर्शकहरु निकै रमाएका थिए । अन्तिम चरणको प्रतियोगितामा जम्मा १२ वटा समूह बिच प्रतिस्पर्धा गराईएको थियो ।

“टुबोर्ग छैठौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता २०७८” को अन्तिम चरणको दोहोरी गीत प्रतियोगिता युनिभर्सल टिभी, नेपाली रडियो नेटवर्क मार्फत देशभरका एफएम स्टेशनहरु र विभिन्न अनलाईनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

सो प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेलाई नगद रु।२ लाख २५ हजार, प्रमाणपत्र, मेडल र शिल्ड र प्रमाणपत्र, दोस्रो स्थान हासिल गर्नेलाई नगद रु।१ लाख ५० हजार, प्रमाणपत्र, मेडल, तेश्रो स्थान हासिल गर्नेलाई नगद रु। १ लाख नगद, प्रमाणपत्र, मेडल र सान्त्वना स्थान हासिल गर्नेलाई नगद रु ५० हजार, प्रमाणपत्र, मेडल र उत्कृष्ट २ पुरुष, २ महिला साथै उत्कृष्ट भेषभूषा र अनुशासित टीमलाई रु। १० हजार नगद, मेडल र प्रमाणपत्र तोकिएको थियो ।

“टुबोर्ग छैठौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८” मा नगरकोट दोहोरी साझको प्रतियोगी जीवन सिग्देल र अस्मिता डल्लाकोटीले प्रथम स्थान हासिल गर्न सफल भएका थिए । यस पुरस्कारको प्रायोजन जापान बसोबास गर्ने मनु थापाले गरेका थिए ।

त्यस्तै प्रतियोगितामा गामबेसी दोहोरी साझको प्रतियोगी शान्ता वलि र अर्जुन खड्काले दोस्रो स्थान हासिल गरेका थिए । यस पुरस्कारको प्रायोजन बिना बुढा मगर, गौचन बुढा मगरले गरेका थिए ।

प्रतियोगितामा क्विन रोधी घरको प्रतियोगीहरु हरिमाया रायमाझी, रश्मि बस्नेत, श्याम राना र शर्मिला रायमाझीले सँगै लुम्बिनी प्रदेशले बराबर नम्बर लिएर दुईवटै समुहले तेस्रो स्थान हासिल गरेका थिए । तृतीय पुरस्कारको प्रायोजन शिरफुल दोहोरी साझले प्रायोजन गरेको थियो ।

प्रतियोगितामा भद्रकाली समूह ९खेम नेपाली० उत्कृष्ट समूहको रुपमा छनौटमा परेकोले रु ५००० नगद पुरस्कार सहित सम्मान गरिएको थियो । त्यस्तै अनुशासित समूहमा ओखलढुंगा प्रतिष्ठान छनौटमा परि नगद रु। ५००० सहित सम्मानित भएको थियो भने नवदित गायिका दिलमाया बिक र गण्डकी प्रदेशका प्रतियोगी नवदित गायक किशान बिक छनौटमा परि ५०००र५००० नगद पुरस्कार सहित पुरस्कृत भएका थिए ।

उत्कृष्ट गायक, गायिका तर्फ गण्डकी प्रदेशको प्रतियोगी सुमन खड्का र राजधानी दोहोरी साझकी प्रतियोगी पुजा पुनले हात पारेका थिए । उत्कृष्ट गायक, गायिकालाई ७०००र७००० नगद पुरस्कार सहित सम्मान गरिएको थियो । त्यसैगरी प्रतियोगीहरु मध्य सबैभन्दा कान्छी प्रतियोगी गण्डकी प्रदेशकी प्रतियोगी अर्चना चापागाईंलाई पनि हौसला स्वरुप रु ७००० नगद पुरस्कार सहित सम्मान गरिएको थियो । प्रतियोगिता अवधिभर अनुशासित कलाकारको रुपमा रहेको भन्दै रु ५००० नगद पुरस्कार सहित राजु लामिछाने सम्मानित भएका छन् ।

“टुबोर्ग छैठौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८” को समापन कार्यक्रममा केन्द्रिय अध्यक्ष रमेश बिजिको अध्यक्षता रहेको थियो । समापन कार्यक्रममा मुख्य प्रायोजक, प्रायोजक, सह – प्रायोजक, सहयोगीदाता, विभिन्न संघ संस्था, मिडियाकर्मी, निर्णायकहरु लगायत अन्यलाई सम्मान गरिएको थियो । कार्यक्रम अवधिभर खटिएर साथ सपोर्ट गर्ने आयोजक, स्वयंसेवक, मुख्य प्रायोजक, प्रायोजक, सह – प्रायोजक, सहयोगीदाता, पत्रकार, विभिन्न संघ संस्था, सुरक्षाकर्मी लगायत अन्यलाई आभार प्रकट गर्नुका साथै लोक दोहोरीलाई सधै माया गर्न अनुरोध गर्दै केन्द्रिय अध्यक्ष रमेश बिजिले कार्यक्रमको समापन गरेका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस