काठमाण्डौ ( गायक प्रकाश सपुतको नयाँ गीत ’पिर’ एकाएक चर्चित भएको छ । शनिवार युटुबमा गीत सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा यसले चर्चा पाएको छ । जनयुद्धको विरोध गरेको भन्दै माओवादीका एकथरी नेता कार्यकर्ताले आलोचना गरेका छन् । अर्काथरीले भने गीतले वास्तविक अवस्था झल्काएको भन्दै प्रशंसा गरेका छन् ।
१६ मिनेट लामो गीतले माओवादीको सशस्त्र द्धन्द्ध र त्यसपछिको अवस्थालाई झल्काएको छ । समाज परिवर्तनको सपना लिएर युद्ध लडेकाहरुको सपना पूरा नभएको र उनीहरु बिचल्लीमा परेको कुरा गीतमा देखाइएको छ । सशस्त्र द्धन्द्ध पछि टाठाबाठा नेताहरु सत्तामा पुगेर हालीमुहाली गरेको तर सोझासाझाले सास्ती भोग्नुपरेको कथा गीतले समेटेको छ ।
तर सशस्त्र युद्धमा सहभागी महिला छापामारहरु देह व्यापारमा संलग्न भएको दृश्य चित्रणप्रति माओवादी नेता कार्यकर्ताहरुले विरोध गरेका छन् । गीतको भिडियोमा प्रकाश सपुतसँगै नायिका सुरक्षा पन्तको अभिनय छ । आरन प्रोडक्सनले उत्पादन गरेको गीतमा प्रकाश सपुत र सम्झना भण्डारीको स्वर छ ।
यसअघि पशुपति शर्माको गीत लुट्न सके लुट कान्छा’को पनि यसैगरी विरोध भएको थियो । २०७५ सालमा शर्माले ल्याएको यो गीत विरुद्ध एमालेका कार्यकर्ताले विरोध जनाएका थिए । विरोध चर्किएपछि शर्माले युटुबबबाट गीत हटाएर केही महिनापछि परिमार्जन सहित फेरि युटुबमा पोस्ट भएको थियो ।