प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका कारण सर्वोच्च अदालतमा एकपछि अर्को समस्या सृजना भइरहेको छ । जबरा आफू कोरोना संक्रमित भइ अस्पताल भर्ना हुँदा पनि अदालतलाई जानकारी नदिएपछि समस्या उत्पन्न भएको हो । जबराको सचिवालयकी सम्झना सिंखडा पुडासैनीले दिएको जानकारी अनुसार जबरा कोरोना संक्रमित भइ सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालको आइसोलेसनमा छन् । तर जबराले आफू बिरामी भएको सर्वोच्च अदालतलाई कुनै जानकारी दिएका छैनन् ।
उनले सर्वोच्चलाई बिरामी भएको जानकारी नदिँदा कामु प्रधानन्यायाधीश बन्न पनि कठिनाइ भएको छ । जबराका कारण सर्वोच्च अदालतमा इतिहासमै पेसी सूची सार्वजनिक हुन सकेन । उनी बिरामी भएर अस्पताल भर्ना भएको र कानु प्रधानन्यायाधीश पनि नतोकिएपछि सर्वोच्चको कामकारबाही ठप्प भएको हो । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश को हो भनेर प्रश्न उठाएपछि गोला प्रथाबाट पेसी तोके पछि बुधबारको इजलास बस्न सकेको थिएन ।
बारको आपत्ति पछि सर्वोच्चमा बार–बेन्चको छलफल पनि भयो । सर्वोच्च अदालतमा उपलब्ध न्यायाधीश र नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यबीच छलफल भएको थियो । अध्यक्षद्वय श्रेष्ठ र शाक्यले वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीलाई कामु प्रधानन्यायाधीश बनेर अदालतका कामकारबाही अघि बढाउन आग्रह गरेको छ । दुवै अध्यक्षले न्यायाधीशहरुसँग प्रधानन्यायाधीशविहीनताको अवस्था संविधानले परिकल्पना नगरेको र एकैसाथ दुई प्रधानन्यायाधीश पनि परिकल्पना नगरेको बताए । यस्तै अध्यक्षद्वय श्रेष्ठ र शाक्यले संविधानको धारा १२९ (६) अनुसार प्रधानन्यायाधीश अशक्त भएर अनुपस्थित भइसकेपछि वरिष्ठतम् न्यायाधीश स्वतः कामु प्रधानन्यायाधीश हुने पनि बताएका छन् ।
उनीहरुले वरिष्ठतम् न्यायाधीश कार्कीलाई कामु प्रधानन्यायाधीश बनेर अदालतको कामकारबाही अघि बढाउन आग्रह समेत गरेका छन् । यता न्यायाधीशहरुले भने प्रधानन्यायाधीश बिरामी भएर अस्पताल भर्ना भएको र विदामा बसेको सर्वोच्च अदालतलाई औपचारिक जानकारी नभएकाले कामु प्रधानन्यायाधीश तोक्न अप्ठ्यारो भएको बताएका छन् । अस्पताल भन्छ– जबरा अस्पतालमा छन् सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालले भने प्रधानन्यायाधीश जबरा कोरोना संक्रमित भइ उपचारमा रहेको बताएको छ ।
अस्पतालका प्रा. शसस्त्र प्रहरी उपरीक्षक डा. प्रविन नेपालले शुक्रबार एक विज्ञप्ती जारी गर्दै प्रधानन्यायाधीश जबरालाई कोरोना र निमोनिया भएकाले उपचाररत रहेको बताए । उनी गत १३ मंसिरदेखि अस्पतालमा उपचाररत रहेको जानकारी दिएका हुन् । जबरा भन्थे– १४ दिन बिदामा बस्नुपर्छ प्रधानन्यायाधीश जबराले यसअघि नै अदालतका न्यायाधीश र कर्मचारीमा कोरोना भेटिए १४ दिन बिदामा बस्नुपर्ने निर्णय गराएका थिए । उनले १४ मंसिर ०७७ सालमै प्रधानन्यायाधीश स्तरबाटै यस्तो निर्णय गराएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र पौडेलले जानकारी थिए ।
कामु विवादले कटलिस्ट ढिलाइ सर्वोच्च अदालतमा भएको कामु प्रधानन्यायाधीश विवादले पेसी सूची सार्वजनिक गर्न ढिलाइ भएको छ । सर्वोच्चका न्यायाधीशहरुले आज पनि गोला प्रथाबाट पेसी सूची सार्वजनिक गरेको एक न्यायाधीशले जानकारी दिए । सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीले प्रधानन्यायाधीश जबरालाई टेलिफोन गरेपछि कामु प्रधानन्यायाधीशको विवाद साम्य भएको हो । जबराले शुक्रबार अस्पतालबाट डिस्चार्ज हुने बताएपछि कामु प्रधानन्यायाधीशको विवाद हल भएको एक न्यायाधीशले जानकारी दिए । उनले भने,‘प्रधानन्यायाधीशलाई टेलिफोन गरेका थियौं ।
भोलि (शुक्रबार) डिस्चार्ज हुने कुरा गर्नुभयो । त्यसपछि कामु प्रधानन्यायाधीशको विवाद हल भयो । उहाँ नै प्रधानन्यायाधीश भए पछि निवासबाटै अदालतको प्रशासनिक काम गर्नुहुन्छ । बाँकी मुद्दा सुनुवाइका काम गोला प्रथाबाट हुन्छ ।’ आज बन्दीप्रत्यक्षीकरणको मुद्दा मात्रै सुनुवाइ हुने र शुक्रबारदेखि सबै मुद्दाको सुनुवाइ हुने एक न्यायाधीशले जानकारी दिए ।