मधुवनमा एम.टी. महरको सांगीतिक धमाका मच्चिने तयारी, दर्शक उत्साहित

दाङ, माघ २६ । बर्दिया जिल्लाको मधुवन नगरपालिकामा आयोजना हुन लागेको औद्योगिक, व्यापारिक, कृषि, पर्यटन तथा खेलकुद महोत्सव–२०८२ ले अहिले नै चर्चा बटुल्न थालेको छ। विशेषगरी चर्चित गायक एम.टी. महर को प्रस्तुति रहने खबरसँगै महोत्सवप्रति दर्शकको उत्साह चुलिएको छ।

आयोजकका अनुसार माघ २६ गते सोमबार हुने विशेष सांगीतिक कार्यक्रममा गायक एम.टी. महरले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन दिनेछन्। देशका विभिन्न स्थानमा कार्यक्रममार्फत ‘धमाका’ मच्चाउँदै आएका महरको प्रस्तुति मधुवनका दर्शकका लागि विशेष आकर्षणको रूपमा हेरिएको छ। मधुवन–६, सानोश्रीमा आयोजना हुने उक्त महोत्सव माघ २५ देखि २७ गतेसम्म सञ्चालन हुनेछ।

महोत्सवमा औद्योगिक, व्यापारिक, कृषि तथा पर्यटन प्रवर्द्धनसँगै सांस्कृतिक कार्यक्रमहरूलाई पनि प्राथमिकता दिइएको आयोजक श्री जनजागृति युवा क्लब ले जनाएको छ। एम.टी. महरसँगै चर्चित गायिकाहरू टीका सानु र धनमाया नेपाली ले पनि प्रस्तुति दिने कार्यक्रम रहेको छ भने कार्यक्रम सञ्चालनमा उद्घोषक आर.जे. रास्कोटी मगर रहनेछन्। स्थानीय कला, संस्कृति, कृषि उत्पादन र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवले मधुवन क्षेत्रको पहिचान थप उजागर गर्ने विश्वास आयोजकले लिएका छन्। गायक एम.टी. महरको उपस्थितिले महोत्सवमा दर्शकको उल्लेख्य भीड लाग्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : २०८२ माघ २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस