काठमाडौं। नेपाली लोकदोहोरी क्षेत्रमा पुनः एकपटक रमाइलो तथा प्रतिस्पर्धात्मक माहोल सिर्जना भएको छ। रोल्पाली खिन्ते र रुकुमेली ललिताबीचको दोहोरी भिडन्तले यतिबेला सामाजिक सञ्जालमा उल्लेखनीय चर्चा बटुलिरहेको छ।
उक्त प्रस्तुतिमा रबिन्द्र सुनार (रोल्पाली खिन्ते) र ललिता खड्का (रुकुमेली ललिता) बीच शब्द–शब्दमा कडा प्रतिस्पर्धा देखिन्छ। दुवैले आ–आफ्नो गाउँठाउँको पहिचान, मायाप्रेम, व्यङ्ग्य तथा रमाइलोपन मिसाएर दर्शकलाई हँसाउने प्रयास गरेका छन्।
गीतमा मायाप्रेमका प्रसङ्ग मात्र नभई सामाजिक सन्देश र गाउँघरको परिवेश झल्काउने शब्दहरू पनि समेटिएका छन्। विशेषगरी प्रश्न–उत्तर शैलीमा प्रस्तुत गरिएको दोहोरीले दर्शकलाई अन्त्यसम्म बाँधेर राख्ने सामर्थ्य प्रदर्शन गरेको छ।
ललिता खड्काले आफ्नो मधुर स्वर र आत्मविश्वासी प्रस्तुतिमार्फत सशक्त उपस्थिति जनाएकी छन् भने रविन्द्र सुनारले हास्य–व्यङ्ग्य मिश्रित जवाफ प्रस्तुत गर्दै माहोल तताएका छन्। दोहोरीमा देखिएको स्वाभाविक हाउभाउ र प्रत्यक्ष दर्शकको उत्साहले कार्यक्रमलाई अझ रोचक बनाएको छ।
यस भिडन्तले नेपाली लोकदोहोरी सङ्गीतप्रति दर्शकको आकर्षण थप बढाएको छ। सामाजिक सञ्जालमा दर्शकहरूले “कडा टक्कर” र “हँसाएरै मार्ने दोहोरी” जस्ता प्रतिक्रिया दिँदै प्रशंसा व्यक्त गरेका छन्।
नेपाली लोकदोहोरीको मौलिकता जोगाउँदै नयाँ पुस्तामाझ लोकप्रियता बढाइरहेको यस्तो प्रस्तुतिले भविष्यमा पनि यस्तै सशक्त दोहोरीहरू आउने सङ्केत गरेको छ।


