The Voice of Nepal season-7 : सञ्चिता दुरा थर्ड रनरअप, प्रशंसनीय यात्रा सम्पन्न

दाङ, फागुन ५ । नेपालको चर्चित गायन रियालिटी शो  The Voice of Nepal season-7 को फाइनल कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । यस सिजनकी प्रतिस्पर्धी सञ्चिता दुरा ले उत्कृष्ट प्रस्तुति दिँदै थर्ड रनरअपको उपाधि हात पार्न सफल भएकी छन् ।

लोक गीतमार्फत सांगीतिक पहिचान बनाउँदै आएकी सञ्चिताले प्रतियोगिताभर सशक्त स्वर, प्रस्तुतीको मिठास र मौलिक शैलीमार्फत दर्शक तथा कोचहरूको प्रशंसा बटुलिन् । नेपाली लोक भाकालाई आधुनिक मञ्चसँग जोड्दै उनले फरक र पहिचानयोग्य छवि स्थापित गर्न सफल भइन् ।

फाइनलसम्म आइपुग्दाको यात्रामा निरन्तर सन्तुलित र प्रभावशाली प्रस्तुति दिँदै उनले आफू केवल लोक गायिकामा सीमित नभई बहुआयामिक प्रतिभा भएको प्रमाणित गरिन् । उनको उपलब्धिलाई लोक संगीतप्रेमीहरूले विशेष गर्वका रूपमा लिएका छन् ।

थर्ड रनरअप घोषित भएसँगै सञ्चिता दुराको सांगीतिक यात्रा अझ सशक्त र फराकिलो बन्ने अपेक्षा गरिएको छ । दर्शक तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत उनलाई बधाई र शुभकामना व्यक्त गरिरहेका छन् ।

प्रकाशित मिति : २०८२ फाल्गुन ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस