
परिवर्तन गाउँपालिका–१, कुरेली रोल्पामा ‘प्रथम कुरेली महोत्सव–२०८१’ को औपचारिक घोषणा गरिएको छ। युनिटी युवा क्लब, कुरेलीले पत्रकार सम्मेलनमार्फत महोत्सवको उद्देश्य, कार्यक्रम, तयारी र सम्भावित फाइदाबारे जानकारी गराएको हो।
महोत्सव फागुन १३ देखि १८ गतेसम्म खर्बोट, रोल्पामा आयोजना हुने छ। यस महोत्सवको उद्देश्य स्थानीय कृषि उत्पादन, पर्यटन, व्यापार, कला तथा संस्कृतिको प्रवर्द्धन गर्नु रहेको छ। परिवर्तन गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मैते बुढा मगरले महोत्सवले स्थानीय उत्पादन र संस्कृतिलाई प्रचार गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे।
महोत्सवमा स्थानीय कृषि उपज, जडिबुटी, हस्तकला सामग्रीहरू प्रदर्शन र बिक्री गरिनेछ। साथै, पर्यटन प्रवर्द्धनका लागि पर्यटकीय क्षेत्रहरूको जानकारी दिने स्टलहरू, भिडियो प्रोजेक्शन, गाइडेड टुर, र पर्यटकहरूसँग अन्तरक्रिया कार्यक्रम समावेश गरिने योजना छ।
कार्यक्रम व्यवस्थापनको जिम्मेवारी परिवर्तन गाउँपालिका–१, कुरेलीलाई दिइएको छ। वडा अध्यक्ष बुढा मगरले गाउँपालिकाले महोत्सव सफल बनाउन पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति, लोकगीत, नृत्य प्रतियोगिता, नाटक प्रदर्शन, चित्रकला प्रदर्शनी, र मौलिक वेशभूषा प्रतियोगिता हुनेछ। स्थानीय आमा समूह र युवा क्लबलाई विशेष प्राथमिकता दिइने छ।
युनिटी युवा क्लबका अध्यक्ष अनिल केसीले महोत्सवमा व्यक्तित्व विकास कार्यशाला, स्वरोजगार तथा उद्यमशीलता सम्बन्धी सेमिनार, र स्थानीय व्यवसायसँग नेटवर्किङ कार्यक्रमको आयोजना गरिने जानकारी दिए।
महोत्सवको सुरक्षाका लागि प्रहरी, स्वयंसेवक, तथा स्थानीय सुरक्षा समिति परिचालन गरिनेछ। स्वास्थ्य सेवा कक्ष, आपत्कालीन सहायता टोली, र सफाइ व्यवस्थापन समिति पनि गठन गरिनेछ।
अन्त्यमा, आयोजकहरूले सम्पूर्ण स्थानिय बासिन्दा, व्यवसायी, कलाकार, पर्यटक र पत्रकारहरूलाई महोत्सवमा सहभागी भई सफल बनाउन आग्रह गरेका छन्।