निर्देसक उपेन्द्र सुब्बाको दाबी- ‘मनसरा’ छ्या भन्ने बनाएको छैन’

गत वर्षको सर्वाधिक सफल फिल्म ‘जारी’बाट निर्देशनमा डेब्यू गरेका कवि तथा आख्यानकार उपेन्द्र सुब्बाले दोस्रो फिल्मको रुपमा ‘मनसरा’ बनाएका छन्, जुन यही बैशाख २१ गतेबाट प्रदर्शनमा आउँदैछ । ‘जारी’लाई लिम्बू समुदायमा प्रचलित जारी प्रथामा आधारित भएर बनाएका उनले ‘मनसरा’मा अन्तरजातीय सम्बन्धको कथा उठान गरेका छन् । ट्रेलर रिलिजपछि फिल्मप्रति धेरैको अपेक्षा बढेको छ ।

निर्देशक सुब्बा आफूले छ्या भन्ने फिल्म नबनाउने दाबी गर्छन् । शनिबार पोखरामा चलचित्र पत्रकार संघ, कास्की शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने- ‘फिल्ममा मिश्रित समाजको कथा छ । हरेक पात्रमा दर्शकले आफूलाई पाउनेछन् । सामाजिक विषयवस्तुमा मेरो रुचि भएकाले पनि फिल्ममार्फत् त्यसलाई प्रस्ततु गर्न खोजेको छु । फिल्म छ्या भन्ने बनाएको छैन । पत्याउने फिल्म नै बनेको छ । फरकधारको फिल्म बनाउने प्रयास हो ।’

निर्देशक सुब्बाले मनसरा धानको नाम रहेको पनि प्रष्ट पारे । यो धानको विशेषता मन परेरै फिल्मको कथा बुनेको उनको भनाई थियो । ‘मनसरा पूर्वतिर पाइने धान हो । यसको ठाँट अलि कडा हुन्छ । वरिपरि अन्य बाली लगाए पनि यो धानमा कुनै असर नभइ उत्पादन हुन्छ । यसलाई मैले फिल्ममार्फत् समाजसँग जोड्ने प्रयास गरेको हुँ,’ उनी सुनिए । उपन्यास लेख्नभन्दा फिल्मको कथा लेख्न सजिलो रहेको पनि उनको अनुभव छ । र, उनलाई लेखनमै आनन्द लाग्छ ।

अभिनेता प्रवीन खतिवडाको बुझाईमा ‘मनसरा’ सामाजिक कथा हो । श्रमिक र परिवारबाट विछोड भएका मान्छेको कथालाई फिल्ममा प्रस्तुत गरिएको उनले बताए । आफ्नो भूमिका साधारण कृषकको रहेको जानकारी गराउँदै उनले दर्शकलाई फिल्म मनपर्ने विश्वास व्यक्त गरे ।

त्यस्तै, अभिनेत्री मिरुना मगर ‘मनसरा’लाई समाजको वास्तविक कथा मान्छिन् । आफ्नो भूमिकालाई दर्शकले मन पराउनेमा पनि उनी आशावादी देखिएकी छन् । उनी भन्छिन्, ‘कुनै पनि कलाकारले निर्देशकले दिएको भूमिका अनुसार आफूलाई प्रस्तुत गर्ने हो । यसमा पनि निर्देशकले दिएको भूमिकालाई मैले सक्दो निभाउने प्रयास गरेको छु ।’ अर्की अभिनेत्री मेनुका प्रधान पनि फिल्ममा आफ्नो भूमिका दर्शकलाई मनपर्नेमा विश्वस्त छिन् ।

निर्देशक सुब्बा स्वयंको लेखन रहेको फिल्ममा दयाहाङ राई पनि मुख्य भूमिकामा छन् । फिल्मका निर्माता शैलेन्द्र ध्वज कार्की हुन् भने छायाँकार पनि उनी नै हुन् । सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा विष्ण कुमार थेबे, पर्शु अधिकारी र जीवन लिम्बू थाक्लुङ सह-निर्मातामा छन् ।

प्रकाशित मिति : २०८१ बैशाख १० गते सोमवार
प्रतिक्रिया दिनुहोस