क्राइम थ्रीलर फिल्म बनाउँदै प्रशान्त ताम्राकार

‘ह्यान्डसम भिलेन’को रुपमा चिनिएका प्रशान्त ताम्राकार अब निर्माता बन्ने भएका छन् । उनले क्राइम थ्रीलर जनरामा फिल्म निर्माण गर्न लागेका हुन् । रोनी मानन्धरको निर्देशनमा बन्न लागेको फिल्ममा प्रशान्त स्वयंले मुख्य भूमिका निर्वाह गर्नेछन् । एक घटनामा अनुसन्धान गरिरहेको प्रहरीको भूमिकामा आफूले काम गर्न लागेको उनले बताए । अर्थात् प्रशान्तको सकारात्मक भूमिका रहनेछ ।

आफूलाई नेपाली मेकरले नकारात्मक चरित्रमा मात्र सोचेकाले त्यसलाई ‘ब्रेक’ गर्न पनि सकारात्मक भूमिकामा देखिन लागेको उनी बताउँछन् । ‘नकारात्मक चरित्रबाहेक पनि प्रशान्तले काम गर्न सक्छ भनेर सोच्दैनन् । त्यही ‘आइसब्रेक’ गर्न पनि मैले सकारात्मक चरित्रमा काम गर्न लागेको हुँ । स्क्रिप्ट र टिमलाई लिएर म ‘कन्फिडेन्ट’ छु,’ उनले भने । फिल्ममा एक्सन पनि रहने उनले बताए ।

फिल्ममा नेपाल प्रहरीसँग सहकार्यको प्रयास भइसकेको प्रशान्त बताउँछन् । ‘काइम जनरा भन्ने वितिक्कै अनुसन्धानको मुख्य पाटो हुन्छ । त्यसमा प्रहरी जोडिहाल्छ,’ उनले नेपाल प्रहरीको प्रशंसा गर्दै भने, ‘नेपाल प्रहरीमा राम्रो क्षमता छ । राजनीति छिरेर अलि डामाडोल भएको मात्र हो । अनुसन्धानमा हाम्रो प्रहरी विश्वमै धेरै अगाडि छ । त्यही राम्रो पक्षलाई फिल्मलाई देखाउन लागेका हौं ।’

‘बिगबेल एडूटेनमेन्ट’को ब्यानरमा निर्माण हुन लागेको फिल्मको यसै वर्षदेखि छायांकन सुरु गरिनेछ । फिल्मका लागि ९० प्रतिशत कलाकार छनोट भइसकेको प्रशान्तले बताए । अधिकांश कलाकार थिएटरबाट लिइएको छ । पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा गुटबन्दी मौलाएका कारण आफूजस्ता धेरै कलाकार ओझेलमा पर्ने स्थिति आएपछि निर्माणमा होमिनु परेको प्रशान्तको गुनासो छ ।

‘फिल्म क्षेत्रमा सबैको आ-आफ्नो गुट भयो । अहिले हामीजस्ता कलाकार ओझेलमा परेका छौं । न निरन्तर एक्सन फिल्म बन्यो न राम्रोसँग काम पाइयो । अहिले हामी छिमेकी राष्ट्रको इन्डस्ट्रीमा भौतारिनुपर्ने अवस्था आएको छ । कि त पलायन हुनुपर्‍यो । यही बसेर काम गर्ने हो भने केही न केही त गर्नुपर्‍यो ! काम छैन भनेर बस्नु भएन । यसैले फिल्म निर्माण गर्न लागेको हुँ,’ उनी सुनिए ।

प्रकाशित मिति : २०८० माघ ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस