माडी गाउँपालिकामा ‘क्षमता, प्रतिभा पहिचान कार्यक्रम’ सञ्चालन हुने

रोल्पा जिल्लाको माडी गाउँपालिकामा विद्यार्थीहरूको अन्तरनिहित क्षमता, प्रतिभा र सिर्जनशीलताको पहिचान गर्ने उद्देश्यले ‘क्षमता, प्रतिभा पहिचान कार्यक्रम’ सञ्चालन हुने भएको छ। माडी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा कार्यक्रम यही २०८२ पौष २८ गते सञ्चालन गरिने जनाइएको छ।

कार्यक्रमअन्तर्गत माडी गाउँपालिकाभित्रका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरूलाई सहभागी गराइनेछ। विभिन्न तहका विद्यार्थीहरूको शैक्षिक, बौद्धिक, कलात्मक र सिर्जनात्मक क्षमता उजागर गर्ने लक्ष्यसहित प्रतियोगिताहरू आयोजना गरिने शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ।

कार्यक्रममा माध्यमिक तह (कक्षा ९–१२) का लागि सामूहिक नृत्य प्रतियोगिता र वादविवाद प्रतियोगिता, आधारभूत तह (कक्षा ६–८) का लागि वक्तृत्वकला प्रतियोगिता, तथा आधारभूत तह (कक्षा ४–५) का लागि हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिनेछ। त्यसैगरी आधारभूत तह (कक्षा १–३) का विद्यार्थीहरूका लागि चित्रकला प्रतियोगिता पनि समावेश गरिएको छ।

प्रतियोगितामा सहभागी विद्यार्थीहरूका लागि ९ -१२ का लागि प्रथम पुरस्कार १५ हजार, द्वितीय १२ हजार र तृतीय हुनेलाई १० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ। ९देखि १२ सम्म वाद विवाद प्रतियोगितामा प्रथम पुरस्कार रु. १० हजार, द्वितीय पुरस्कार रु. ८ हजारर तृतीय पुरस्कार रु. छ हजार प्रदान गरिनेछ भने ६ देखि ८ सम्म वक्तित्व कला प्रतियोगितामा प्रथम रु. १० हजार द्वितीय रु. ८ हजार र तृतीय रु. ६ हजार पुरस्कार राखिएको छ त्यस्तै ४ देखि ५ सम्म हाजिरी जवाफ प्रतियोगिता प्रथम पुरस्कार रु १० हजार द्वितीय पुरस्कार रु ८ हजार र तृतीय पुरस्कार रु ६ हजार त्यस्तै १ देखि ३ सम्मका लागि चित्रकला प्रतियोगिता प्रथम पुरस्कार रु १० हजार द्वितीय पुरस्कार रु ८ हजार तृतीय पुरस्कार रु ६ हजार पुरस्कार रहेको छ भने अन्य विद्यालयहरूलाई यातायात खर्च दिने समेत व्यवस्था गरिएको छ।

माडी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले यस कार्यक्रममार्फत विद्यार्थीहरूमा लुकेको प्रतिभा पहिचान गर्दै सिर्जनशीलता, आत्मविश्वास र प्रतिस्पर्धात्मक भावना विकास गर्ने लक्ष्य लिएको जनाएको छ। कार्यक्रममा सम्बन्धित सबै विद्यालयहरूलाई तोकिएको मिति र समयभित्र विद्यार्थी सहभागिता सुनिश्चित गर्न अनुरोध गरिएको छ।

प्रकाशित मिति : २०८२ पुष २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस