रोल्पाको परिवर्तन–२ राङ्सीमा तेस्रो माघी सांस्कृतिक कार्यक्रम हुने

रोल्पाको परिवर्तन गाउँपालिका वडा नम्बर २ राङ्सीमा रहेको प्रगतिशील टोल विकास संस्थाले माघेसंक्रान्तिको अवसर पारेर “ तेस्रो सांस्कृतिक कार्यक्रम–२०८२” आयोजना गर्ने भएको छ । कार्यक्रम माघ १ र २ गते दुई दिनसम्म सञ्चालन हुनेछ । सांस्कृतिक कार्यक्रमअन्तर्गत सामूहिक नृत्य प्रतियोगिता, खुल्ला एकल नृत्य प्रतियोगिता , टोलस्तरीय हाजिरीजवाफ प्रतियोगिता र पैसेरु नाच , खुल्ला आमा समूह सामूहिक नृत्य र धनुषवाण प्रतियोगिता सञ्चालन गरिनेछ ।

प्रतियोगिताका विजेता तथा उपविजेतालाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने प्रगतिशील टोल विकास संस्थाका अध्यक्ष सुरेन्द्र वलीले जानकारी दिनुभयो । उहाँका अनुसार कुनै पनि विधामा चारभन्दा कम समूह सहभागी भएमा प्रतिस्पर्धा नगरिने, प्रस्तुतिमा स्थानीय संस्कार, संस्कृति र देशभक्तिपूर्ण भावनालाई विशेष प्राथमिकता दिइनेछ ।

सांस्कृतिक कार्यक्रमका क्रममा उत्पन्न हुने कुनै विवादमा आयोजक संस्थाको निर्णय अन्तिम हुने जनाइएको छ । कार्यक्रममा स्थानीयदेखि राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ । उद्घाटन कार्यक्रम माघ १ गते बिहीबार परिवर्तन गाउँपालिका–२ धरमशाला, राङ्सीमा गरिने छ ।

कार्यक्रमका मिडिया पार्टनर जलजला टिभी र रेडियो मालाश्री रहेका छन् भने अनलाइन पार्टनर परिवर्तन खबर र रुटिन अफ रोल्पा रहेका छन् । संस्थाले आयोजना गर्ने सांस्कृतिक कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी, व्यापारी, समाजसेवी, शिक्षक, विद्यार्थी, पत्रकार, आमा समूह, टोल विकास संस्था तथा सरोकारवाला सम्पूर्ण महानुभावहरूलाई गरिमामय उपस्थितिका लागि आमन्त्रण गरिएको छ ।

प्रकाशित मिति : २०८२ पुष २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस