राप्ती गाउँपालिकामा व्यावसायिक केरा खेती गरिरहनुभएका रण प्रसाद सुवेदीले आठ विगाह क्षेत्रफलमा मालभोग केरा लगाउनु भएको छ । पाँच वर्षअघिबाटै व्यावसायिकरुपमा केरा खेती शुरु गर्नुभएका उहाँले यस वर्षदेखि आठ विगाह थप गरेर जम्मा १६ विगाह क्षेत्रफलमा खेती शुरु गर्नुभयो । ‘लमही नगरपालिकाको एक नं. वडा र राप्ती गाउँपालिकाको विभिन्न ठाउँमा गरेर १६ विगाह जग्गामा केरा खेती गरिरहेको छु’– उहाँ भन्नुहुन्छ– ‘रैथाने बालीभन्दा व्यावसायिक केरा खेतीमा फाइदा राम्रो छ ।’
उहाँले माटो र मौसमको अनुकुलताको हिसावले राप्ती गाउँपालिका वरपर केरा खेतीका लागि राम्रो रहेको बताउनुभयो । वार्षिक ५५ लाख आम्दानी गर्ने उद्देश्य राखेर आठ विगाह जग्गा थप लिजमा लिनुभएका उहाँले बजारीकरण राम्रै भए पनि उधारो उठाउन समस्या पर्ने गरेको बताउनुहुन्छ । ‘गएको जेठमा केरा लगेको पैसा अझै आएको छैन । समस्या यहाँनेर छ’– उहाँले भन्नुभयो– ‘स्थानीय सरकारले बजारीकरण र मूल्यको ग्यारेन्टी गर्ने खालको कार्यक्रम ल्याइदिए सहज हुने थियो ।’ उहाँले ढुक्कको केरा बजार चाहिएको बताउँदै उत्पादन गरेका केराले बजार र मूल्य दुबै पाउने वातावरण बनाउन स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताउनुहुन्छ ।
तीर्थराज ज्ञवालीले छ वर्षअघि घरमै केही बोट केरा लगाएर खेती शुरु गर्नुभएको थियो । अहिले उहाँको केरा खेती ५० कट्ठामा फैलिएको छ । धेरै केरा खेती गरिएको राप्ती गाउँपालिकाको वडा नं. ७ भित्र ज्ञवालीको जस्तै केरा खेती गर्ने किसान धेरै हुनुहुन्छ । त्यहाँ करिब २५ विगाहभन्दा बढी जग्गामा केराको व्यावसायिक खेती गरिएको छ । ‘व्यावसायिक हिसावले अन्य बालीमा भन्दा लगानी अनुसारको प्रतिफल धेरै हुन्छ भन्ने छ’– उहाँ भन्नुहुन्छ– ‘बजार व्यवस्थापनमा मात्रै स्थानीय सरकारको साथ भए दाङ जिल्ला केरामा आत्मनिर्भर बन्न सक्छ ।’
केरामा देखिएका रोग प्रकोपको निदान गर्न प्राविधिक जानकारी स्थानीय सरकारले दिनुपर्ने उहाँको भनाइ छ । ‘केरामा रोग लाग्छ । हाम्रो तहबाट त्यसको पहिचान गर्न गाह्रो पर्छ । पालिकाबाट आउने प्राविधिकहरुमा पनि कम ज्ञान हुँदा समस्या भइरहेको छ’– उहाँले भन्नुभयो– ‘केराको बारेमा जानेका प्राविधिकहरुको आवश्यकता धेरै छ यहाँ ।’ त्यस्तै नेपाली बजारमा भारतबाट केरा आउने गरेको छ । त्यो केराले अहिले पनि बजार ढाकेको छ । भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्दा नेपाली किसान मर्कामा परेका छन् । किसानले समयमा मल र केराको बिउ नपाउने समस्या रहेको उहाँ‘ले बताउनुभयो ।
यी केही प्रतिनिधि किसान हुन् । कृषि ज्ञान केन्द्रको रेकर्डमै १० कट्ठा भन्दा धेरै क्षेत्रफलमा व्यवसायिकरुपमै केरा खेती गर्ने किसान ५० बढी छन् । जिल्लामा ५० विगाह क्षेत्रफलमा केरा खेती गर्ने किसानसम्म रहेको कृषि ज्ञान केन्द्रका सुचना अधिकारी पृथ्वीराज लामिछाने बताउनुहुन्छ । यी मध्ये केरा खेती गर्ने धेरै किसान देउखुरी क्षेत्रमा छन् । ‘बलौटे र दोमट माटो देउखुरीको गढवा र राप्ती गाउँ‘पालिका क्षेत्रको राप्ती किनारमा पाइन्छ, केराको लागि चिम्टौलो माटो खासै राम्रो हुन्न’– उहाँले भन्नुभयो– ‘यहाँ बाहिर जिल्लाबाट आएर खेती गर्ने किसान पनि छन् ।’ कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा उत्पादन भएको केरा दाङसहित नजिकका जिल्लामा समेत जाने गरेको छ । उहाँले केरा खेती प्रवद्र्धन कार्यक्रममार्फत वर्षेनि छनोट गरेर प्रतिहेक्टर एक लाखका दरले अनुदान दिइरहेको पनि बताउनुभयो । ‘पोहोर १५ हेक्टरको बजेट थियो १० हेक्टरले अनुदान पाएका थिए’– उहाँले भन्नुभयो– ‘अहिले १० हेक्टरको लागि १० लाख रुपैयाँ छ ।’
वर्षेनि बढ्दै केरा खेती
कृषि ज्ञान केन्द्रको रेकर्डमा वर्षेनि केरा खेती गर्ने क्षेत्रफल र उत्पादन वर्षेनि बढ्दै गएको देखाएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा एक सय १० हेक्टर क्षेत्रफलमा एक हजार ९३ मेट्रिक टन केरा उत्पादन भएको थियो । त्यस वर्ष केराको उत्पादकत्व ११.५१ थियो । अर्को आर्थिक वर्ष २०७८÷०७९ मा दुई सय ७० हेक्टर क्षेत्रफलमा दुई हजार सात सय ८२ मेट्रिक टन केरा उत्पादन भयो । उत्पादकत्व अघिल्लो वर्षको तुलनामा घटेर १०.७० भए पनि उत्पादन र केरा खेती गर्ने क्षेत्रफल बढेको ज्ञान केन्द्र बताउँछ । गत आर्थिक वर्ष केरा खेती गर्ने क्षेत्रफल झन बढेर पाँच सय ३० हेक्टर पुग्यो । आर्थिक वर्ष २०७९÷०८० मा उत्पादकत्व पनि बढ्यो भने उत्पादन पनि बढेर चार हजार पाँच सय ३४ मेट्रिक टन भयो । आर्थिक वर्ष २०७५÷०७६ र ०७६÷०७७ मा केरा खेतीमा त्यति कृषकको आकर्षण बढेको देखिएको थिएन । आर्थिक वर्ष २०७५÷०७६ मा दुई सय ७५ हेक्टर क्षेत्रफलमा केरा खेती गरिएको थियो । त्यस वर्ष तीन हजार ३९ मेट्रिक टन केरा उत्पादन भएको थियो । त्यसको अर्को वर्ष ०७६÷०७७ मा दुई सय ५५ हेक्टरमा भएको केरा खेतीबाट तीन हजार ३१ मेट्रिक टन केरा उत्पादन भएको थियो ।
अझै परनिर्भरता कायमै
दाङमा माग अनुसारको केरा उत्पादन हुन सकेको छैन । जिल्लामा केराको माग अत्यधिक हुने गरे पनि माग अनुसारको उत्पादन हुन नसक्दा वर्षेनि करोडौं रकम बाहिरिने गरेको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछाने बताउनुहुन्छ । उहाँका अनुसार दाङमा माग अनुसारको करिब ३० प्रतिशत मात्रै केरा उत्पादन हुने गरेको छ ।
जिल्लामा अहिलेको अवस्थामा वार्षिक करिब ११ हजार मेट्रिक टन केराको खपत हुने गरेको छ, जुन उत्पादनका हिसावले ७० प्रतिशत बढी खपत हो । कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार गत वर्ष चार हजार पाँच सय ३४ मेट्रिक टन केरा उत्पादन भएको छ । दाङको सबै स्थानीय तहमा केरा खेती हुने गरेको भए पनि देउखुरी उपत्यकाको राप्ती, गढवा गाउँपालिकामा धेरै र शान्तिनगर, तुलसीपुर र घोराहीमा पनि केही व्यावसायिक केरा खेती गर्ने किसान छन् । गत वर्षको तथ्यांक अनुसार जिल्लामा पाँच सय ३० हेक्टर क्षेत्रफलमा केरा खेती भएको थियो । ‘दाङमा व्यावसायिक रुपमा १० कट्ठा भन्दा धेरैमा केरा खेती गर्ने किसान मात्रै ५० भन्दा बढी हुनुहुन्छ, यो संख्या वर्षेनि बढ्दै गएको देखिन्छ तर यहाँको माग यहींकै उत्पादनले धान्न सकेको छैन’– लामिछानेले भन्नुभयो– ‘दाङको लागि केराको पकेट क्षेत्रका रुपमा देउखुरी नै मानिन्छ । घोराही, तुलसीपुरलगायतका ठाउँमा भन्दा केरा उत्पादन गर्ने हावापानी राप्ती र गढवाको राप्तीतिरमा छ ।’ अहिले जिल्लाका लागि आवश्यक पर्ने केरा भारत र जिल्ला बाहिर कैलाली, नवपरासी, चितवन, कपिलवस्तु लगायतबाट आयात हुने गरेको छ । दाङमा केरा खेतीको लागि उपयुक्त हावापानी छ । जसले गर्दा धान खेती गर्दै आएका किसानले धानको सट्टा केरा खेती गर्न थालेका छन् । त्यति गर्दा पनि अझै दाङ केरामा आत्मनिर्भर बन्न समय लाग्ने देखिन्छ ।