हिन्दू परम्पराअनुसार म‌गलबारदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध शुरु

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म कायम रहने पितृपक्षमा आफ्ना दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गर्ने परम्परा छ । वडादशैं शुरु हुनु भन्दा अघि १६ दिनसम्म दिवंगत पितृहरुको सम्झनामा विभिन्न पितृकार्य गर्ने चलन रहेको छ । सनातन धर्मावलम्वीहरुले वैदिक विधि अनुसार नदीका त्रिवेणी, दोभान, घाटलगायत तीर्थस्थल र घरडेरामै पितृको श्राद्व तथा तर्पण गर्ने गर्दछन् । पितृकार्यलाई अति पवित्र मानिन्छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले नेपाली समाजमा सोह्रश्राद्धको नामले परिचित छ । चाड पर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले आफ्ना पितृको श्रद्धासाथ सम्झना गर्ने वैदिक परम्परा छ । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यतासमेत रहेको छ । बडादशैं र तिहारजस्ता महान् चाडका अगाडि पर्ने सोह्रश्राद्धले सन्ततिलाई आफ्ना पितृप्रतिको दायित्वबोध गराउनुका साथै पितृऋणबाट मुक्त गराएर चित्तशुद्धि गराउँछ भन्ने मान्यता रहिआएको छ ।

सोह्रश्राद्ध सुरु भएसँगै पशुपति क्षेत्रमा सर्वसाधारणहरु दिवङ्गत पितृको सम्झनामा तर्पण तथा पिण्डदान गर्नका लागि पुगेकाछन् । यस पटक पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा पितृकार्य गराउने पुरोहितहरुलाई कर्मकाण्डको प्रमाणपत्र प्रस्तुत गर्नुपर्ने नियम लागू गरेको छ । साथै कोरोना सङ्क्रमणबाट बच्नका लागि स्वास्थ्य मापदण्ड पनि पूर्ण रूपमा लागू गरिएको जनाइएको छ

प्रकाशित मिति : २०७८ असोज ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस